७ बैशाख २०८१, शुक्रबार

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा जीवनबहादुर शाही नियुक्त


जीवनबहादुर शाही

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस कर्णाली संसदीय दलका नेता जीवनबहादुर शाही नियुक्त भएका छन् । कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गरेपछि शाहीले दाबी पेश गरेका थिए ।

प्रदेश प्रमुख कलौनीले प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई आज साँझ ७:३० बजेभित्र मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेपछि शाहीले दाबी पेश गरेका थिए ।

महेन्द्रबहादुर शाहीले नेपालको संविधानको धारा १६९ उपधारा १ (क) बमोजिम प्रदेश प्रमुखसमक्ष सोमबार साँझ ७:३० बजे मुख्यमन्त्री पदवाट राजीनामा दिएका थिए । प्रदेश प्रमुखले सोमबार नै उनको राजीनामा स्वीकृत गरी उक्त पदका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई २४ घण्टाको समयसीमा दिएका थिए ।

शाहीले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का प्रदेशसभा सदस्यको समर्थनमा उनले प्रदेश प्रमुख कलौनी समक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् । उनले माओवादी केन्द्रबाट १२ जना, कांग्रेसबाट ६ जना, एकीकृत समाजवादीबाट ३ जना गरेर २१ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी पेश गरेका थिए ।

कर्णाली प्रदेशसभा हाल ३५ सदस्यीय रहेकाले मुख्यमन्त्रीमा दावी पेश गर्न १८ सांसदको समर्थन भए पुग्छ । प्रदेश प्रमुखको कार्यालय स्रोतका अनुसार आजै मंगलबार राती साढे ८ बजे मुख्यमन्त्री शाहीले शपथ ग्रहण गर्ने कार्यक्रम रहेको जनाएको छ ।

२०७४ फागुन ३ गते मुख्यमन्त्री नियुक्त भएका महेन्द्र शाहीले गत वैशाख ३ गते विश्वासको मत लिने क्रममा कांग्रेससँग भएको सत्ता सहकार्यको सहमति कार्यान्वयन गर्न सोमबार राजीनामा दिएका थिए ।

२०७४ फागुन ३ गते मुख्यमन्त्री नियुक्त भएका महेन्द्र शाहीले गत वैशाखमा विश्वासको मत लिने क्रममा काँग्रेससँग भएको सत्ता समीकरण सम्बन्धी सहमति कार्यान्वयन गर्न राजीनामा दिएको उनीद्वारा जारी प्रेस वक्तव्यमा उल्लेख छ । प्रदेशदेखि केन्द्रीय सरकारमा प्रतिपक्षमा रहेको काँग्रेस सोही सहमतिअनुसार पहिलोपटक कर्णालीमा दुई मन्त्रीसहित सत्तामा पुगेको थियो ।

यो पनि पढ्नुहोस्

कर्णालीको मुख्यमन्त्रीमा जीवनबहादुर शाहीद्वारा दावी पेश

कर्णाली प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान

कर्णालीमा काँग्रेसका जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बन्ने बाटो खुल्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !