१३ बैशाख २०८१, बिहिबार

कांग्रेसको चेतावनीपछि कर्णालीका मुख्यमन्त्री शाही राजीनामाको तयारीमा


कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिने तयारी गरेका छन् । कर्णाली प्रदेशको सत्ता साझेदार दल नेपाली काँग्रेसले मुख्यमन्त्री शाहीले सत्ता हस्तान्तरण नगरे सरकारबाट बाहिरिने चेतावनी दिएपछि शाहीले राजीनामा दिने तयारी गरेका हुन् ।

अहिले प्रदेश सरकारको मन्त्रिपरिषद बैठक जारी रहेको छ । गत वैशाख २ गते भएको ११ बुँदे सहमति अनुसार काँग्रेस र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने सम्झौता गरिएको थियो ।

नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीका अनुसार आजको मन्त्रिपरिषद् बैठकपछि मुख्यमन्त्रीले राजीनामा दिने गरेको बताए । मुख्यमन्त्री शाहीले पूर्वसहमति अनुरुप आज सत्ताको नेतृत्व हस्तान्तरण गर्नुपर्ने काँग्रेसको माग छ ।

तत्कालीन नेकपा एमालेबाट फ्लोर क्रस गरेर मन्त्री बनेका ३ जना आज स्वतः पदमुक्त भएका छन् । नेकपा बिभाजनपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहीलाई काँग्रेससहित नेकपा एमालेका तत्कालीन ४ सांसदले विश्वासको मत दिएपछि उनको पद जोगिएको थियो ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शाहीले पदबाट राजीनामा दिएपछि कांग्रेस संसदीय दलका नेता शाही कर्णालीमा मुख्यमन्त्री बन्नेछन् । कांग्रेस र माओवादीबीच कर्णालीमा आलोपालो गर्ने सहमति भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !