ओली प्रचण्डको गृह जिल्ला चितवन गएर सिंह झैँ गर्जिने संकेत Nepalpatra ओली प्रचण्डको गृह जिल्ला चितवन गएर सिंह झैँ गर्जिने संकेत
११ मंसिर २०७८, शनिबार

ओली प्रचण्डको गृह जिल्ला चितवन गएर सिंह झैँ गर्जिने संकेत


केपी शर्मा ओली फाइल फोटो

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृह जिल्ला चितवन गएर सिंह झैँ गर्जिने संकेत बुझिएको छ । एमाले अध्यक्ष ओलीले भोलि सोमबार पहिलोपटक प्रस्तावित माडीको अयोध्याधाम अवलोकन गर्ने भएका हुन् ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार अध्यक्ष ओली भोलि सोमबार चितवन जाने कार्यक्रम रहेको नेपालपत्रलाई बताए । ओली भोलि बिहान ११ बजे चितवन पुग्नेछन् ।

ओलीले अयोध्याधाम अवलोकनपछि सम्बोधन गर्ने कार्यक्रमन रहेको छ । त्यसपछि उनले एमाले भरतपुर महानगर कमिटीको अधिवेशन उद्घाटन गरेपछि सम्बोधन पनि गर्नेछन् । ओलीले केन्द्रीय महाधिवेशनको तयारीबारे जानकारी र महाधिवेशनस्थल निरीक्षण पनि गर्नेछन् ।

२०७७ साल असार २९ भानुजयन्तीका दिन बालुवाटारमै आयोजित कार्यक्रममा ओलीले राम भारतीय हुँदै नभएको भन्दै नेपालमै जन्मेको र अयोध्या पनि नेपालमै रहेको अभिव्यक्ति दिएपछि माडीको अयोध्यापुरी चर्चा परिचर्चा नेपाल र भारतमा भएको थियो ।

माडी नगरपालिका-९ मा पर्ने अयोध्याधाम भरतपुरदेखि करिब ५० किलोमिटर दूरीमा छ । यहाँ रामायणसँग जोडिएका अयोध्यापुरी, वाल्मीकि आश्रम, सोमेश्वरगढी, पाण्डवनगर, पर्शुराम कुण्डलगायतका धार्मिक क्षेत्रहरू छन् ।

यसअघि एमालेले दशौं महाधिवेशन माओवादी अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवनमा तामझामका साथ गरेर शक्ति प्रदर्शन गर्ने निर्णय गरिसकेको छ । बादलको गृहजिल्ला पनि चितवन नै भएकोले महाधिवेशन चितवनमै गर्न लाग्नुलाई विशेष चासोका साथ हेर्न थलिएको छ ।

आगामी निर्वाचनमा बादलले प्रचण्डसँग लड्ने घोषणा गरिसकेका छन् । एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार नारायणगढ र बन्द सत्र पर्यटकीय क्षेत्र सौराहामा हुने भएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको महाधिवेशन चितवनमा गर्न लागेको हो ।

उद्घाटन सत्रमा ५ लाखभन्दा बढी नेता-कार्यकर्ता उतारेर एमालेले प्रचण्डको गृहजिल्ला चितवनको नारायणी नदी किनारको खुल्ला ठाउँ छनोट गरेको हो । ओलीको चितवन भ्रमणबारे एमाले भरतपुर महानगर कमिटीले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन पनि गर्दैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !