१९ बैशाख २०८१, बुधबार

प्रचण्डलाई ओलीको जवाफ : बालुवाटारमा आफ्नै घरबाट भाँडाकुँडा लगेको थिएँ


प्रचण्ड र केपी ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा आफ्नै घरबाट भाँडाकुँडा लगेको स्पष्ट पारेका छन् । उनले थोरै भात र एउटा रोटी खाएर बस्ने आफूलाई करोडौंको भाँडाकुँडा नचाहिने जिकिर समेत गरेका छन् ।

आज काठमाडौंमा एमालेको सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटारमा करोडौंको बिलासिताका सामान खरिद गरेको आरोपको खण्डन गरेका छन् ।

‘मेरो भान्छामा त भाँडाकुँडा पनि आफ्नै हुन्थे, केको सरकारी पैसामा किन्नु ? प्रधानमन्त्री निवासमा सेना पनि बस्छ, उसलाई खाना खानुपर्‍यो होला। भाँडाकुँडा चाहियो होला । मेरो श्रीमतीले पकाएको खाना खाएर बस्ने मलाई किन करोडौंको भाँडाकुँडा चाहियो ?,’ ओलीले भने,‘थोरै भात र एउटा रोटी खाएर बस्ने मलाई करोडौंको भाँडाकुँडा किन चाहियो ?’

यसअघि शुक्रवार चितवनमा बोल्दै प्रचण्डले ओली प्रधानमन्त्री हुँदा करोडौंको भाँडाकुँडा किनेको आरोप लगाएका थिए । प्रचण्डले भनेका थिए ‘बालुवाटारमा प्रधानमन्त्री निवास दरबारजस्तो बन्दैछ, प्रधानमन्त्रीको निजी कार्यालय त्यस्तै दरबार बन्दैछ । हामीलाई त अहिले थाहा भयो केपी ओलीले त त्यो दरबार जिन्दगीभरि छोड्नु पर्दैन भनेर थाइल्याण्ड, इटलीबाट महँगो सामान ल्याएर राखेका रहेछन् ।’

यसरी अहिले ओली र प्रचण्डवीच प्रधानमन्त्री हुँदा ओलीले बालुवाटारमा करोडौंको सामान खरिद भएको विषयमा जुहारी नै चलिरहेको छ । ओलीले यो विरोधीहरुले लगाएको आरोप मात्र भएको स्पष्टिकरण दिंदै प्रचण्डको उक्त आरोपको बचाऊ गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !