७ पुस २०८१, आइतबार

मुख खोल्दै चोलेन्द्रले भने- न्यायपालिकालाई लथालिङ्ग पारेर म जान्नँ

दबाव र प्रभावमा चोलेन्द्रले राजीनामा नदिने


चोलेन्द्रशम्शेर जबरा

काठमाडौँ । चौतर्फी राजीनामा दिन दवाव बढिरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा नदिने अडान व्यक्त गरेका छन् । बीबीसी न्यूज नेपाली सेवालाई दिएको अन्तर्वार्तामा उनले आफूले “कसैको दबावमा” राजीनामा नदिने बताएका छन् । राजीनामा नदिई अन्तिमसम्म लड्ने रणनीति प्रधानन्यायाधीश जबराको देखिन्छ ।

आफू संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश बनेको भन्दै उनले “सडकबाट राजीनामा माग्दैमा आफू त्यसको निम्ति तयार नहुने” दृढता प्रकट गरे ।नेपाल बार एशोसिएशन तथा पूर्वप्रधानन्यायाधीश लगायतबाट राजीनामाको अपेक्षा भइरहेको देखिएको बेला जबराले त्यस्तो अडान दर्शाएका हुन् ।

प्रधानन्यायाधीश जबराले आफू पदबाट बाहिरिने बाटो संविधानमा व्यवस्था रहेको भन्दै महाभियोगतर्फ सङ्केत गरेका छन् । प्रधानन्यायाधीश जबराले भने, “संविधानको प्रक्रियाबाट म आएको छु र त्यही संविधानको प्रक्रियाबाट मात्रै म जाने हो।”

कसैको “दबाव र प्रभावमा” पद त्याग नगर्ने उनले बताए । जबराले भने, “न्यायपालिकालाई लथालिङ्ग पारेर म जान्नँ ।” त्यसको अर्थ के उनी महाभियोग सामना गर्न तयार छन् त?

“यसमा म प्रष्ट छु, म विधि र प्रक्रियाबाट आएको हुँ, विधि र प्रक्रियाबाट जान तयार छु,” उनले भने। वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमण्डलमा जबराले भाग खोजेको आरोप लागेपछि उनी विवादमा तानिएका थिए।

तर मन्त्री नियुक्त भएपछि जबराका नातेदार गजेन्द्र हमालले राजीनामा दिएका थिए । ओमप्रकाश मिश्र सेवानिवृत्त भएपछि पौष २०७५ मा चोलेन्द्र शम्शेर जबरा प्रधानन्यायाधीश बनेका थिए ।

तात्कालिक प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध प्रतिनिधिसभामा दर्ता भएको महाभियोग प्रस्तावलाई अघि नबढाउन तथा उनलाई काममा फर्काउन वैशाख २०७४ मा आदेश दिएपछि जबरा चर्चामा आएका थिए । यो लेख बिबिसी नेपाली सेवाको अनलाइनवाट साभार गरिएको हो ।

यो पनि पढ्नुहोस्

राजीनामा नदिने अडानमा चोलेन्द्र : महाभियोग सामना गर्न तयार

चोलेन्द्रको राजीनामा बारेमा एमाले तटस्थ रहने ओलीको संकेत

विराटनगरमा पुगेर ओलीले भने- अदालत र संसद्मा तमासा भइरहेको छ

सर्वत्र प्रधानन्यायाधीशको राजीनामाको चर्चा चल्दा राजनीतिक दलहरू किन बोलेनन् ?

एक्लै लड्ने मनस्थितिमा प्रधानन्यायाधीश जबरा : विषम परिस्थतिमा पनि तोके पेसी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !