१४ बैशाख २०८१, शुक्रबार

विराटनगरमा पुगेर ओलीले भने- अदालत र संसद्मा तमासा भइरहेको छ


केपी शर्मा ओली फाइल फोटो

विराटनगर । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हाल अदालत र संसद्मा तमासा भइरहेको टिप्पणी गरेका छन् । आज मंगलबार विराटनगरमा प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

ओलीले अदालत लोकतन्त्रको स्तम्भ भएको भन्दै निष्पक्ष, स्वतन्त्र र शक्ति पृथकीकरणको सिद्धान्त बमोजिमको न्यायालय हुनुपर्नेमा जोड दिए । उनले भने, “यस प्रकरणका क्रियाकलापहरू सम्मानित सर्वोच्च अदालतजस्ता ठाउँमा हुनु हुँदैन ।”

बाहिर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको चर्चा चल्दा राजनीतिक दलहरू किन बोलेनन् ? भनेर सर्वत्र आलोचना भईरहेको बेला ओलीले यसबारेमा मुख खोलेका छन् ।

यद्यपि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पदबाट राजीनामा दिनुपर्ने वा नपर्ने विषयमा भने एमालेको तटस्थ रहेको उनले स्पष्ट पारे । अहिलेको परिस्थितिमा एमालेले प्रधानन्यायाधीशको राजीनामा पनि नमाग्ने र महाभियोगको पक्षमा पनि नउभिने संकेत गरेका हुन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतभित्र भइरहेको दाउपेचमा आफूहरु नपस्ने बताएका छन् । उनले परमादेशअघिकै सेटिङका कारण यो सबै तमासा भइरहेको बताए ।

ओलीले संसद्ले पनि कुनै काम गर्न नसकेको बताए । ओलीले आफू प्रधानमन्त्री हुँदा संसद्मा एकजना उभियो भने व्यवधान खडा भएको हुनाले संसद् स्थगित हुन्थ्यो । अहिले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले जस्तो देशको सबभन्दा ठूलो पार्टीले विरोध जनाउँदा पनि संसदको कामकारबाही अघि बढेको भनेर गुनासो समेत गरे ।

उनले भने, “अहिले नेकपा (एमाले) जस्तो देशको सबभन्दा ठूलो पार्टी र प्रमुख प्रतिपक्षले विरोध जनाउँदा जस्केलाबाट हामफालेर, झ्यालबाट हामफालेर, करिडोरबाट छिरेर, पछाडिको ढोकाबाट छिरेर, झ्यालबाट छिरेर मन्त्री आउने र कार्यक्रम सञ्चालन भयो भन्ने तमासा त छँदै छ नि !”

‘अर्ली इलेक्सन’का सन्दर्भमा सोधिएको एक प्रश्नको जवाफमा ओलीले चुनाव चाहने कि नचाहने भन्ने प्रश्नभन्दा पनि आवश्यकता हो कि होइन भन्ने मुख्य कुरा रहने बताए । उनले सरकारको कार्यशैली भद्रगोल रहेको, संसदले कुनै काम गर्न नसकेको भन्दै अहिलेको संसदबाट निकास ननिस्कने धारणा समेत राखे ।

यो पनि पढ्नुहोस्

सर्वत्र प्रधानन्यायाधीशको राजीनामाको चर्चा चल्दा राजनीतिक दलहरू किन बोलेनन् ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !