११ बैशाख २०८१, मंगलबार

‘बोल्ड डिसिजन’ गर्न सुटुक्क प्रचण्ड सुकुटेमा, के गर्लान् त ?


प्रचण्ड सुकुटेमा तस्वीर सौजन्य : भोटेकोशी बिच रिसोर्ट, सुकुटे

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रिफ्रेस हुन सुटुक्क सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । प्रचण्ड आफुलाई तनाव हुँदा रिफ्रेस हुन र ‘बोल्ड डिसिजन’ गर्न कहिले सुकुटे, कहिले सिन्धुली, कहिले हातिवन जाने गरेका थिए ।

सिन्धुपाल्चोकका पत्रकार दिनेश थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्ड सुकुटे पुगेको जानकारी दिएका छन् । पत्रकार थापाले प्रचण्डले सुकुटेमा पुगेर सुनकोशीमा र्याफ्टिङ गरिरहेको भिडियोसमेत सार्वजनिक गरेका छन् । यसअघि पनि प्रचण्ड धेरैपटक रिफ्रेस हुन भन्दै सुकुटे पुग्ने गरेका थिए ।

पत्रकार थापाका अनुसार प्रचण्ड पत्नी सीता दाहालसहित पार्टी केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सापकोटा, माधव सापकोटा, वाइसिएलका पूर्वअध्यक्ष दीपशिखा, जिल्ला संयोजक गोबिन्द पराजुली लगायतका नेताहरुलाई पनि लिएर सुकुटे पुगेका हुन् ।

प्रचण्डको टोली दिउँसो ४ बजे सुकुटे पुगेको थापाले जानकारी दिएका छन् । थापाले यसअघि प्रचण्ड इक्वेटर रिसोर्टमा बस्ने गरेको भएपनि यो पटक भने माओवादी निकट व्यवसायीहरुको संचालनमा रहेको भोटेकोसी रिसोर्टमा बसेका बताएका छन् ।

एमाले नेतृत्वको बागमती प्रदेश सरकार आजै ढाल्ने रणनीति लिएका प्रचण्डको योजना बिफल भई एक हप्ता लम्बिएको छ । साथै प्रदेश १ मा पनि एमाले नेतृत्वको सरकार ढालेर एमाले अध्यक्ष केपी शर्मा चुनौती दिंदै दवाव बढाएर गर्जन गर्ने सोचमा प्रचण्ड रहेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको दशौं महाधिवेशन चितवनमा हुने भएको छ । आज बिहीबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले दशौं महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो ।

माओवादी अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवनमा तामझामका साथ एमालेले दशौं महाधिवेशन गरेर शक्ति प्रदर्शन गर्न लागेको सहजै अनुमान गर्न सकिन्छ । बादलको गृहजिल्ला पनि चितवन नै भएकोले महाधिवेशन चितवनमै गर्न लाग्नुलाई विशेष चासोका साथ हेर्न थलिएको छ । आगामी निर्वाचनमा बादलले प्रचण्डसँग लड्ने घोषणा गरिसकेका छन् ।

ओलीले अहिले माधव नेपालको साथ छोडेर एमालेमै बसेका भीम रावलसहितका १० जना नेताहरुलाई पाखा र बादललाई काखा च्यापेर अघि सरिरहेका छन् । ओलीले एमालेको दशौँ महाधिवेशन आयोजनाका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा ११ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन गरेर चितवनमा महाधिवेशन गर्ने निर्णय गर्नुको पछि ठुलो राजनीतिक रणनीति देखिन्छ ।

अवको आगामी निर्वाचन भनेको ओली र प्रचण्डको अस्तित्वको लडाईसंग पनि जोडिएको छ । पूर्व माओवादीका नेताहरुलाई एमालेमा आकर्षक पद दिएर प्रचण्डलाई कम्जोर बनाएका ओलीलाई एमाले विभाजन गरेर प्रचण्डले पालोको पैचो लिन सफल भएका थिए । आफू प्रधानमन्त्री नबनी देउवालाई प्रधानमन्त्री बनाई गैरकम्युनिष्ट देउवासँग सहकार्य गरेर एमालेलाई दुई चिरा बनाउन प्रचण्ड सफल भएका थिए ।

यता प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको अवस्था बुझ्न आज बिहान सुदूरपश्चिम निस्किएकै दिन किन प्रचण्ड सुकुटे पुगे भनेर अर्को कोणवाट पनि विश्लेषण गर्न गर्न सकिन्छ । प्रचण्ड जस्तोसुकै परिस्थतिमा पनि आफूलाई कम्फर्ट जोनमा लाने प्रयास गर्ने क्रान्तिकारी डाइनामिक लिडर हुन् । आफूलाई अनुकूल अवस्था आएमा प्रचण्ड जस्तोसुकै निर्णय लिन पनि तयार हुने अस्थिर नेता पनि हुन् ।

एमसीसी विषयलाई लिएर प्रचण्ड र देउवाको वीचमा चिसोपन आएको सहजै अनुमान गर्न सकिन्छ । प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी संसदवाट पास गर्ने रणनीतिमा छन् तर प्रचण्ड त्यो पक्षमा छैनन् । एमसीसी विषयमा देउवा र ओलीको धारणा समान देखिन्छ । एमसिसीको विषयलाई लिएर कतै देउवा र ओलीको भावी सत्ता समीकरण त बन्ने होइन भन्ने आशंका उनी गर्न सकिन्छ किनकी राजनीति भनेको सम्भावनाको खेल हो । राजनीतिमा कुनै पनि स्थायी शत्रु र मित्र हुदैनन् । राजनीतिमा नैतिकता नभएको हाम्रो देश नेपालका नेताहरु सत्ताको लागी जे गर्न पनि तयार हुन्छन् ।

कतै सत्ता गठबन्धनमा रहेका दलहरुवीच भित्री आपसी असमझदारी बढेर गडबड भईरहेको त छैन भन्ने शंका गर्न सकिने प्रशस्त आधारहरु देखिन्छ । यी यावत् विषयमा ठण्डा दिमागले कसरी निर्णय गरेर आफू अघि बढ्ने भन्ने रणनीति बनाउन प्रचण्ड गएको हुनसक्ने अनुमान पनि गर्न सकिन्छ ।

साथै नेपालमा राजतन्त्र हटेर लोकतन्त्र आइसक्दा पनि नेपालका राजनीतिक दलका नेताको विलासी ठाँट भने अझै राजसी नै देखिएको भन्दै प्रचण्डको आलोचना हुँदै आएतापनि सुकुटे जानुमा प्रचण्डको घरायसी मानवीय संवेदनशिलताको नजरअन्दाज गरिहाल्न मिल्दैन किनकी प्रचण्डकी धर्मपत्नी सीता दाहाल धेरै समयअघिदेखि अस्वस्थ छिन् ।

सीताको स्वास्थ्यलाई मनोवैज्ञानिक तरिकाले सहज बनाउन ‘रिफ्रेस’ का लागि प्रचण्ड सीतासहित पार्टीका नेताहरुसँग सुकुटे पुगेको हुनसक्ने अर्को तरिकाले विश्लेषण गर्न पनि सकिन्छ । यसअघि २०७५ साल बैशाख ३ गते सोमबार पनि प्रचण्ड आरामका लागि भन्दै सुकुटे गएका थिए । त्यतिबेला उनी श्रीमती सीता, छोरी ज्वाईँ, नाती नातिनीसहित पारिवारिक जमघटको लागि सुनकोशी किनारको सुकुटेमा गएका थिए ।

यसअघि पनि अध्यक्ष प्रचण्ड तनावमा परेका बेला पटकपटक सिन्धुपाल्चोकको सुकुटे जाने गरेका थिए । उनी जब राजनीतिक तनावमा हुन्छन्, त्यसवेला आराम गर्न सुकुटे पुग्ने गरेका विगतका उदाहरण पनि छन् । सुकेट जाँदा सिन्धुपाल्चोक-१ का प्रतिनिधिसभा सदस्य समेत रहेका सभामुख अग्नि प्रसाद सापकोटासँगै जाने गर्छन ।

पार्टीका केही राजनीतिक दस्तावेज वा प्रतिवेदन लेख्नुपरे वा महत्वपूर्ण निर्णय लिनको लागि दाहाल बेला बेलामा गुप्तबासमा बस्ने गरेका छन् । प्रचण्ड प्राय: कुनै पनि ‘बोल्ड डिसिजन’ गर्नुपर्दा उपत्यका बाहिर जाने गर्दछन् । प्रदेश सरकार परिवर्तन हुनै लाग्दा प्रचण्ड एक दिनका लागि सुकुटे पुगेका हुन् । सुकुटेबाट फर्के लगत्तै प्रचण्ड नयाँ निर्णय गर्ने आशंका गरिएको छ ।

यो पनि पढ्नुहोस्

‘रिफ्रेस’ का लागि प्रचण्ड परिवारसहित सुकुटेमा

प्रचण्डलाई छट्पटी : तनावमुक्त हुन लागे सिन्धुलीतिर

‘बोल्ड डिसिजन’ गर्न सिन्धुली पुगे प्रचण्ड, के गर्लान् त ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !