११ जेष्ठ २०८१, शुक्रबार

एमाले विधान महाधिवेशनमा समूहगत छलफल समापन


Nekapa Emale Bidhan Mahadiweshan

ललितपुर । नेकपा (एमाले) को प्रथम विधान महाविधेशनको समूहगत छलफल समापन भएको छ । हिजो बिहानदेखि सुरु भएको राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सकिएको हो ।

प्रतिवेदनमाथि १० समूहमा छलफल भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । सात प्रदेश, उपत्यका, विशेष कमिटी, सम्पर्क कमिटी र प्रवास, जनसङ्गठन तथा केन्द्रीय निकाय र आयोगले आ–आफ्नो समूहमा छलफल गरेका थिए । छलफलपछि टोली नेताले सुझाव प्रस्तुत गरेका थिए ।

प्रदेश नं १ बाट देवराज घिमिरे, प्रदेश नं २ बाट ज्वालाकुमारी साह, वाग्मती प्रदेशबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा, लुम्बिनीबाट लीला गिरी, कर्णालीबाट गोरख बोगटी र सुदूरपश्चिमबाट कर्ण थापाले आ–आफ्नो समूहबाट छलफलबाट आएका सुझावलाई प्रस्तुत गरेका थिए । विशेष कमिटी, सम्पर्क कमिटी र प्रवासबाट सुजिता शाक्य, जनसङ्गठनबाट सुनिता बराल तथा केन्द्रीय निकाय र आयोगबाट भानुभक्त ढकालले समूह नेताका रुपमा तीनवटै प्रतिवेदनमाथि सुझाव प्रस्तुत गरेका थिए ।

टोली नेताले हिजो सुझाव प्रस्तुत गरेपछि आज आइतबार राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनबारे महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्तावबारे उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिनेछन् । विधान महाधिवेशनमा देशभरबाट ६ हजार ३४७ प्रतिनिधि सहभागी छन् । विधान महाधिवेशन आज आइतबारसम्म चल्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !