१० जेष्ठ २०८१, बिहिबार

भावुक हुँदै प्रचण्डले भने- नेकपामा हुँदा मर्ने कि लड्ने अवस्थामा पुगेको थिएँ


अखिल क्रान्तिकारीको कार्यक्रममा प्रचण्ड फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भावुक हुँदै तत्कालीन नेकपामा बस्दा आफू मर्ने कि फेरि लड्ने अवस्थामा पुगेको खुलासा गरेका छन् ।

नेकपा माओवादी केन्द्रको जनवर्गीय संगठन अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेकपामा रहँदा अर्का अध्यक्ष ओलीको प्रवृत्तिले आफू एकदमै जटिल अवस्थामा पुगेको बताएका हुन् ।

उनले भने, ‘बालुबाटारमा ओलीको हर्कतले आफू मर्नु कि फेरि संघर्ष गर्नुभन्ने स्थितिमा पुगेँ । यत्रो जनयुद्ध गरेर आत्मासमर्पण गर्न सकिन्न तर कि त मैले आत्मसमर्पण गर्नुपर्थ्यो कि त सुसाइट गर्नुपर्ने अवस्था आएको थियो ।’

प्रचण्डले साविकको नेकपामा निरंकुश र प्रतिगामी प्रवृत्तिसँग संघर्ष गर्दा फेरि लड्ने कि सकिएन यत्ति रहेछ भनेर छोड्ने भन्ने प्रश्न आएको बताए । उनले आफूले पार्टीका नेताहरुको साथ लिएर आत्महत्या गर्न छोडेर क्रन्तिकारी ढंगले लड्ने निर्णय लिएर त्यसमा विजयी भएको बताए ।

प्रचण्डले २०५२ फागुनमा जनयुद्धको अन्तिम तयारी गर्दा पनि यस्तै भएको सुनाए । तर जनयुद्ध शुरु भएपछि हजारौं मानिस आवद्ध भएको, अवसरवादी होला भनेका नेताहरु धेरै महान् भएका उनले सुनाए ।

सहयात्री साथीहरूबाट फेरि क्रान्ति गर्ने उर्जा पाएको भन्दै उनले लड्ने या मर्नेमा अवस्थाबाटै सडकमा पुगेको बताए । उनले पार्टी नयाँ क्रान्तिमा होमिएको भन्दै त्यो बेला आफूहरू मर्न, जेल जान, यातना खेप्न तयार भएर फेरि क्रान्तिमा होमिएको बताए ।

प्रचण्डले निर्वाचन प्रणाली परिवर्तन गर्ने आवाज उठाए आफूहरूले जित्ने बताएका छन् । उनले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने आन्दोलन छेडे विजयी हुने बताए । उनले पहिलेको निर्वाचनमा खर्च गर्न नपरेको र अब पैसा खर्च गरे पनि जित्न नसक्ने अवस्था भएको बताए ।

यस्तै देशमा केपी ओली, कमल थापा जस्ता नेताले जनतामा आतङ्क फैलाएको टिप्पणी गरे । माओवादी र वाईसीएलको आतङ्क छ भन्ने भ्रम अन्त्य भएको भन्दै उनले माओवादी नभए देश र जनताको अस्तित्व नै संकटमा पर्ने दाबी गरे ।

उनले हतियारको लडाइँ अब माओवादीले नलड्ने बताउदै राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति र आफैँले संघर्ष गरेर ल्याएको उपलब्धीका कारण हतियारको क्रान्ति नगर्ने बताए । सडकमा लाखौँ जनता उतारेर रङ्गिन क्रान्ति गर्न सकिने प्रचण्डको दाबी छ ।

उनले नेतृत्वमा पुगेकाहरू अवसरवादी हुँदै गएको बताउदै आफूले पार्टीबाट धेरै मन्त्री बनाएको र ती पतन भएको बताए । उनले हिजो क्रान्तिमा लड्नका लागि मोर्चा नपाउँदा रुनेहरू अहिले मन्त्री नपाउँदा रुने गरेको सुनाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !