१३ जेष्ठ २०८१, आइतबार

देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक, अध्यादेश फिर्ता लिने तयारी


मन्त्रिपरिषद बैठक फाइल फोटो

काठमाडौँ । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज अपराह्न ४ बजे सिंहदरबारमा बस्ने बैठकले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष फिर्ता पठाउने निर्णय हुन सक्ने बालुवाटार स्रोतले बताएको छ ।

हिजो आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा अध्यादेश फिर्ता लिनबारे छलफल भएको थियो । सरकारले राजनीतिक दलसम्‍बन्‍धी अध्यादेश ल्याएपछि नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजन भएका थिए ।

अध्यादेशमा केन्द्रीय समितिका २० प्रतिशत सदस्य वा २० प्रतिशत सांसदले दल फुटाउनसक्ने व्यवस्था राखिएको छ । अध्यादेशको विषयमा जनता समाजवादी र नेकपा एकीकृत समाजवादीबीच किचलो हुँदा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

अहिलेकै अवस्‍थामा मन्‍त्रिपरिषद् विस्‍तार गर्दा पुन: दल विभाजन हुनसक्‍ने भय सत्‍ता गठबन्‍धनमा आवद्ध दलहरूलाई छ । यसअघि २०७७ बैशाखमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएका थिए । तर, आफ्नै पार्टीबाट चर्को दबाब आएपछि फिर्ता लिन बाध्य भएका थिए ।

नेकपा एमाले र जसपा विभाजन सहज हुने गरी संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुगेमा दल विभाजन हुनेगरी सरकारले अध्यादेश ल्याएको थियो । त्यसको प्रयोजन सकिएकाले त्यसलाई निष्क्रिय पारेर मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको तयारी छ ।

अध्यादेश फिर्ता हुनेवित्तिकै देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । आजको बैठकले संसद अधिवेशन अन्त्यको सिफारिस निर्णय पनि लिन सक्ने जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !