३ असार २०८१, सोमबार

भोजपुर–खोटाङ जोडिने कोट–पाँचधारे सडकखण्ड स्तरोन्नति हुँदै


कोट–पाँचधारे सडकखण्ड

भोजपुर । भोजपुरलाई खोटाङ सदरमुकाम दिक्तेलसँग जोड्ने कोट–पाँचधारे सडकको स्तरोन्नति थालिएको छ । वर्षा याममा आवागमन नै अवरुद्ध हुने टेम्केमैयुङ गाउँपालिका–६ कोटक्षेत्रको सात किलोमिटर सडक स्तरोन्नति थालिएको हो ।

सडकको मोड मिलाउने, ग्याविन जाली भर्ने, नाली कटाउने, अप्ठ्यारो ठाउँमा ढलान गर्ने, ग्राभेल गर्नेलगायतको काम भइरहेको छ । छ नम्बर वडा कार्यालयको पहलमा केन्द्र सरकारबाट विनियोजन भएको रु ८० लाख बजेटबाट पिखुवाखोला पुलबाट वडा नं ६ कार्यालयसम्मको सडक स्तरोन्नति थालिएको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए ।

पश्चिमी क्षेत्रको महत्त्वपूर्ण सडक रहेकाले प्राथमिकतासाथ काम अघि बढाएको उनले बताए । हालसम्म करिब ५० प्रतिशत काम सम्पन्न भएको छ ।

सडक स्तरोन्नतिपछि कृषि उपज बजार पुर्याउन सहज हुने स्थानीयवासी हरिकुमार राईले बताए । विगतका वर्षायाममा झै अब सास्ती खेप्नुनपर्नेमा उनी ढुक्क हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !