३ असार २०८१, सोमबार

प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रममा छलफल गर्ने कार्यसूची


प्रतिनिधिसभा बैठक

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । यसअघि शुक्रबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी आजका लागि स्थगित गरिएको थियो ।

संघीय संसद् सचिवायलयले बैठकका अनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।

यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रणसम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल /प्रचण्ड/ले राष्ट्रपतिबाट गत जेठ १ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । नीति तथा कार्यक्रममाथि सदस्यहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले उक्त छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन् । त्यसपछि सभामुखले प्राप्त संशोधन र नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम जेठ १ गते संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेका थिए । यो नीति तथा कार्यक्रम पारित भएपछि यसैको आधारमा तयार पारिएको सरकारको बजेट जेठ १५ गते संसदमा प्रस्तुत हुनेछ ।

साथै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले “लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने विषय पनि आजको कार्यसूचीमा समेटिएको छ ।

सहकारीको रकम अपचलनबारे गृहमन्त्रीको नाम नै तोकेर संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेसले आफ्ना माग पूरा नभएसम्म संसद् चल्न नदिने बताउँदै आएको छ । सहकारी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच आइतबार बैठक बस्दै छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !