४ जेष्ठ २०८१, शुक्रबार

प्रचण्डलाई बाबुरामको जवाफ– आत्महत्या गर्नुछ भने आफैं गरे भो, मलाई किन बोलाउनू ?


baburam-bhattarai

१३ चैत, नेपालगञ्ज । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी ‘दूध’ भएकोले ‘पानी’ बराबरका पुराना पार्टीहरुसँग ध्रुवीकरणमा नजाने बताएका छन् ।

उनले माओवादी केन्द्रले एमालेसँग गर्न लागेको एकता ‘आत्महत्या’ बराबर हुने टिप्पणी गर्दै नयाँ शक्ति माओवादीमा नमिसिने प्रष्ट पारे ।

नेपालगञ्जमा सम्पन्न नयाँ शक्ति पार्टी, नेपाल प्रदेश ५, कर्णाली प्रदेश र प्रदेश ७ को संयुक्त प्रशिक्षणात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘हामी दूध हौं, अरु पानी हुन् अरुमा मिसिन जाने भनेको पानीमा दूध मिसाउनु जस्तै हो, जसको अर्थ हुँदैन’, नयाँ शक्ति पार्टी पुराना शक्तिहरुसँग ध्रुवीकरणमा नजाने स्पष्ट पार्दै उनले अगाडि थपे, ‘बरु अलिकति दूधको मात्रा बढाएर, केही थोरै मात्रामा सफा पानी दूधमा थप्न सकिन्छ । तर, पानीमा मिसिन जान सकिँदैन ।’

उनले एमालेसँग एकता गर्ने माओवादीको तयारीप्रति टिप्पणी गर्दै यसलाई ‘आत्महत्या’को संज्ञा दिए । ‘एमाले माओवादीको एकता प्रचण्डको आत्मसमर्पण होइन, आत्महत्या हो’, उनले प्रचण्डले माओवादीमा फर्किन गरेको आग्रहतर्फ संकेत गर्दै भने, ‘आत्महत्या नै गर्नु छ त प्रचण्डजीले आफैं गरे भयो, किन मलाई बोलाइरहनुभएको छ ? मैले बुझ्न सकिरहेको छैन ।’

राजनीतिलाई नयाँ दिशा दिनकै लागि नयाँ शक्तिको जन्म भएको दाबी गर्दै अगाडि थपे, ‘संसार गतिमा छ, विचार र पार्टी पनि गतिमा हुन्छ, त्यसैले क्रान्ति कहिल्यै पूर्ण हुँदैन । अब हामीले एउटा क्रान्ति गर्नुपर्छ, विकास र समृद्धिको ।’

फरक प्रसंगमा भट्टराईले सीमांकनका आधारमा प्रदेश ५ उँट जस्तो बनेको टिप्पणी गरे । संरचना नमिलेकाले यो लामो समय रहनेमा उनले शंका व्यक्त गरे ।

उनले संघीयताले तल्लो तहसम्म राजनीतिक अधिकार निक्षेपण गर्दै नागरिकको हक, अधिकार र पहिचानलाई सुनिश्चित गर्ने भएकोले पहिचान र सामर्थ्यलाई आधार बनाएर राज्य पुनर्संरचना आयोगले दिएको प्रतिवेदन अनुसार प्रदेशहरुको सीमांकन गरिनु वस्तुवादी र वैज्ञानिक हुने बताए ।

भट्टराईले विगतमा समाजवादी केन्द्रको स्थापना गर्ने उद्देश्यका साथ वामपन्थी गठबन्धनमा सामेल हुने निर्णय गरेको तर एमाले र माओवादी केन्द्र त्यो उद्देश्यबाट विचलित भएकाले गठबन्धन छाडेर बाहिर आउनुपरेको दाबी गरे । आजको अनलाइन खबरमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !