२० बैशाख २०८१, बिहिबार

एमालेको विधान महाधिवेशन सर्‍यो, अब असोज १५ गतेदेखि हुने


एमाले स्थायी कमिटी बैठक फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विधान महाधिवेशन सरेको छ । आज शनिबार बसेको स्थायी कमिटीको बैठकले असोजको ४–६ (४, ५ र ६) गते हुने भनिएको विधान महाधिवेशनलाई दुई साता सार्दै असोज १५–१७ (१५, १६ र १७) गते काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

एमाले प्रचार-प्रसार विभाग प्रमुख योगेश भट्टराईले समय अभावका कारण विधान महाधिवेशन सारिएको स्पष्ट पारेका छन् । विधान महाधिवेशनको तयारीका लागि असोज ३ र ४ गते स्थायी कमिटी बैठक बस्ने भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन सम्बन्धी प्रस्ताव, राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदनहरु प्रस्तुत हुनेछन् । स्थायी समितिमा ती प्रतिवेदनमाथि छलफल गरी प्राप्त सुझावहरुलाई असोज ८ र ९ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेस हुनेछ ।

उनले केन्द्रीय कमिटी बैठकमा छलफल गरी ती दस्तावेजहरु विधान महाधिवेशनमा पेस गरिने बताए । विधान महाधिवेशनमा पार्टीका विभिन्न कमिटी तथा निकायबाट करिब ३ हजार प्रतिनिधिले भाग लिने भट्टराईले जानकारी दिए ।

राष्ट्रिय प्रतिनिधि परिषद् नरहेकोले विधानको बाधा अड्काउ फुकाउँदै बिभिन्न तहबाट कति सदस्यले विधान महाधिवेशनमा भाग लिन पाउने भन्ने टुंगो लगाएको भट्टराईले जानकारी दिए ।

यस्तै एमालेले संसद अवरुद्धको रणनीतिलाई केही परिमार्जन गरि यथावत राख्ने स्थायी कमिटीले गरेको निर्णयलाई पारित गर्न भोलि १२ बजे संसदीय दलको बैठक बोलाइएको भट्टराईले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !