२४ बैशाख २०८१, सोमबार

नेपालप्रति ओलीको कटाक्ष : खान पाइन्छ भनेर दौडने लङ्गुरहरू पार्टी छाडेर गएका हुन्


केपी शर्मा ओली र माधव नेपाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार लङ्गुरमा दौडनेहरूको सरकार भएको व्यंग गरेका छन् । आज शनिवार नेकपा एमाले काठमाडौं महानगर कमिटीले राष्ट्रिय सभागृहमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकार खानका लागि गएकाहरूको सरकार भएको टिप्पणी गरेका हुन् ।

अध्यक्ष ओलीले भने, ‘भारतको पन्जाबतिर लङ्गुर लागेको भन्ने हुन्छ । लङ्गुर लागेको भनेपछि खान पाइन्छ भनेर दौडनेहरू पार्टी छाडेर गएका हुन् ।’ ‘अहिलेको सरकार त्यही लङ्गुरमा दौडनेहरूको सरकार हो । यिनीहरूको विचार आदर्श उद्देश्य केही मिल्दैन । खानको लागि मात्रै गएका हुन् ।’

ओलीले एमाले विभाजन भएको नभई चोइटिएको दोहोर्‍याए । ओलीले पार्टी नफुटेको बरु विगतदेखि झमेला गर्दै आइरहेका केही तत्त्व बाहिरिएको बताएका छन् । उनले भने, ‘वास्तवमा पार्टी फुटेको होइन केही वर्षदेखि बिग्रिएका तत्त्वहरू गएका हुन् । त्यसलाई चोइटिएकोसम्म भन्न सकिन्छ ।’

उनले माधव नेपाल समूह पार्टीमा वैचारिक द्वन्द्व नभइ केवल पदका लागि मात्र पार्टीबाट बाहिरिएको बताए । सम्बोधनको क्रममा ओलीले माधव नेपालको नाम नलिई उनको चर्को आलोचना गरे । पार्टी विभाजन गर्नेहरूले कुनै वैचारिक मतभेद राख्न नसकेको ओलीको तर्क छ ।

ओलीले भने, ‘कहिले सामन्ती राजाको वरिपरि परिक्रमा गरेर दाम चढाएर पनि ढोगेको छ । पत्रमन्जुसामा प्रधानमन्त्री हुन पाउँ भनेर निवेदन पनि हालेको छ । मौका मिल्दा बुद्धिस्ट संगठनको अध्यक्ष पनि भएको छ । दक्षिणा प्राप्त हुन्छ भनेरै गएका हुन् ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !