जनकपुर । प्रदेश २ का नेकपा एमालेबाट निर्वाचित १० जना सांसदले माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । उनीहरु आज जनकपुरधामस्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा (एस) मा सनाखत गरेका हुन् ।
नेकपा एमाले छाडेर नेकपा (एस) रोज्ने सांसदहरुमा शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोककुमार यादव, मञ्जुकुमारी यादव, बेची लुंगेली, रवीन्द्र बैठा, नागेन्द्र राय यादव, हसिमा खातुन र मनोज सेन श्रीवास्तव रहेका छन् ।
प्रदेशसभा सदस्य शत्रुघन महतोका अनुसार एकीकृत समाजवादीमा १३ सांसद खुलेका छन् । तीमध्ये एकजना भारतमा रहेका र दुईजना सनाखतका लागि पुग्ने क्रममा रको उनले बताए ।
माधव पक्षका अन्य सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ काठमाडौंमा रहेकाले भोलि पर्सि आएर सनाखत गर्ने उनले बताए । सांसद विश्वकर्मा र गुरुङ खराब मौसमका कारण बिहीबार आउन नसकेको र अर्काे दिन आएर सनाखत गर्ने उनेल बताए ।
सांसद डिल्ली उप्रेतीले भने दिल्लीमा उपचाररत रहेकाले दूतावासमार्फत सनाखत गर्ने तयारीमा उप्रेती रहेको महतोले बताए । क्यान्सर पीडित रहेका डिल्ली उप्रेतीले निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पत्रमार्फत सनाखत गर्न लगिएको हो ।
प्रदेश २ प्रदेशसभामा एमालेका २१ सांसदहरुमध्ये १३ जना शुरुदेखि नै माधव नेपाल पक्षमा देखिँदै आएकोले प्रदेशसभामा एमाले सांसदको संख्या ८ जनामा झरेको छ ।
यसअघि निर्वाचन आयोगले नेकपा एमालेबाट विभाजित भइ बनेको नेकपा (एकीकृत समाजवादी) का तर्फबाट निर्वाचित जनप्रतिनिधिले दल रोज्न पाउने समयसीमा दिएको थियो ।
आयोगले दल दर्ताका लागि निवेदन दिएको मिति भदौ २ गतेदेखि २१ दिनभित्र अर्थात् भदौ २२ गतेभित्र यी दुवै पार्टीका प्रदेशसभा सदस्य र स्थानीय तहका सदस्यले निर्वाचन कार्यालयमा उपस्थित भएर सनाखत गर्न निर्देशन दिएको थियो ।
यो पनि पढ्नुहोस्
प्रदेश २ मा जसपाका १० सांसदले रोजे लोसपा
कर्णाली प्रदेशमा पनि एमालेका ३ जना सांसदले रोजे नेकपा (एस)
प्रदेश १ मा एमालेका १० सांसदले रोजे नेकपा (एस)
सुदूरपश्चिममा पनि एमालेका १० सांसदले रोजे नेकपा (एकीकृत समाजवादी)
वाग्मतीमा एमालेका १२ सांसदले रोजे नेकपा (एकीकृत समाजवादी)
भदौ २२ गतेसम्म एमाले र जसपाका जनप्रतिनिधिलाई दल रोज्न आयोगको निर्देशन