२१ बैशाख २०८१, शुक्रबार

देउवा र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेवीच हिजो के भयो कुराकानी ?


प्रधानमन्त्री देउवासँग भाजपाका विदेश विभाग प्रमुखको शिष्टाचार भेट

काठमाडौँ । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपालको ४ दिने भ्रमणमा आएका छन् । चौथाइवालेले हिजै साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए ।

हिजो आइतबार भएको भेटमा दुई देशबीचको आपसी सम्बन्धका साथै दुई पार्टीबीचको सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । सो भेटमा सहभागी कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार कांग्रेस र भाजपाबीचको सम्बन्ध थप विस्तारका लागि आपसी भेट तथा पार्टीका क्रियाकलापहरू सक्रिय तुल्याउने विषयमा छलफल भएको थियो ।

दुई दलबीच हुने सहकार्य तथा भेटवार्ताहरूले आपसी दृष्टिकोण बुझ्न तथा आपसको सम्बन्ध थप सुदृढ गर्न मद्दत पुग्ने डा. महतले बताएका थिए । सहमहामन्त्री डा. महतको निमन्त्रणामा चौथाइवाले नेपाल आएका हुन् ।

उनले प्रधानमन्त्री देउवालाई भारतको सत्तारुढ दल भाजपाका तर्फबाट बधाई तथा शुभकामना समेत दिएका छन् । बालुवाटार विशेष स्रोतका अनुसार चौथाइवालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश समेत लिएर आएका छन् ।

भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे चौथाइवालेले चासो राखेको बुझिएको छ । उनी नेपालको विकसित राजनीतिक घटनाक्रमपछि नेपाल आएका हुन् ।

महतले सामाजिक सञ्जाल ट्विटरमार्फत नेता महतले भेटवार्ताको तस्विर सार्वजनिक गर्दै उनले उक्त भेटवार्ताले कांग्रेस र भाजपाबीच सम्बन्ध सुदृढ गर्न मद्दत पुग्ने विश्वास दिलाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !