१४ बैशाख २०८१, शुक्रबार

देउवा र प्रचण्ड मिलेर एमाले विभाजन गर्न खोजेपछि ओलीले बोलाएको आकस्मिक बैठक बस्दै


एमाले बैठक

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मिलेर नेकपा एमाले विभाजन गर्न खोजेपछि अध्यक्ष केपी शर्मा ओलीले बोलाएको एमालेको आकस्मिक बैठक आज बस्दैछ ।

ओलीले एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएका हुन् । अध्यक्ष ओलीले आज मंगलबार बिहान ११ बजे ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा स्थायी कमिटी बैठक बोलाएका छन् भने दिउँसो ३ बजे संसद् भवन नयाँ बानेश्वरमा संसदीय दलको बैठक बोलाएका हुन् ।

ओलीले दुवै बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई पनि बोलाएका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले संसद् अधिवेशन अन्त्य गरे लगत्तै ओलीले बैठक बोलाएका हुन् ।

देउवा सरकारले दल विभाजन सम्वन्धी अध्यादेश ल्याई एमालेको नेपाल समूहलाई पार्टी फुटाउन सजिलो बनाउने उद्धेश्यले संसद्को अधिवेशन एक्कासी अन्त्य गरेकोले ओलीले पार्टीको बैठक बोलाएका हुन् ।

यद्यपि एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने संसद् अधिवेशन अन्त्य हुँदा र शुरु हुँदा दलको बैठक बस्नु नियमित प्रक्रिया नै भएको बताएका छन् । हिजो सोमबार अबेर राति वक्तव्य जारी गर्दै ओलीले एमालेका सबै नेतालाई आ-आफ्ना कमिटीका बैठकमा उपस्थित हुन अपिल जारी गरेका छन् ।

ओलीले एमाले फुटाउने षड्‍यन्त्र भएको भन्दै त्यसविरुद्ध एकजुट हुन समेत अपिल गरेका छन् । विघटित कार्यदलले एकताका लागि १० बुँदे सहमति गरे तापनि एमालेमा आन्तरिक विवाद मिल्न सकेको छैन ।

ओली र नेपाल आरोप-प्रत्यारोपमा रहिरहेका वेला विघटित कार्यदलका सदस्यहरू भने निरन्तर छलफलमा रहेका छन् । नेपाल समूहले अघि सारेको समान हैसियत र हस्ताक्षरको मागलाई ओलीले अस्वीकार गर्दै आएका छन् ।

यो पनि पढ्नुहोस्

मध्यरातमा एमाले विभाजन रोक्न अपिल गर्दै ओलीले जारी गरे ५ बुँदे विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !