२० बैशाख २०८१, बिहिबार

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव पेश, सत्ता पक्ष अनुपस्थित


लुम्बिनी प्रदेशसभा

बुटवल । सत्ता पक्षको अनुपस्थितिमै लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन शुरु भएको छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन शुरु भएको हो ।

केही समयअघि मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा दिए पनि प्रदेश प्रमुख कार्यालयबाट पत्र नआएकाले नियमित प्रक्रिया अघि बढाइएको सभामुख पूर्णप्रसाद घर्तीले प्रदेशसभालाई जानकारी दिए ।

बैठकमा अविश्वास प्रस्ताव पेश गर्दै प्रदेशसभा सदस्य वीरेन्द्रकुमार कनौडियाले सदनमा सत्ता पक्ष अनुपस्थित नहुनु अनौठो भएको बताए । अहिले विपक्षी दलका सांसदहरुले उक्त प्रस्तावमाथि आफ्नो धारणा राखिरहेका छन् ।

सभामुख घर्तीले मुख्यमन्त्री पोखरेलले राजीनामा दिए पनि प्रदेशसभामा जानकारी नभएकाले विशेष अधिवेशनको पूर्वनिरर्धारित तालिकाअनुसार अविश्वास प्रस्तावको प्रक्रिया अघि बढेको बताए ।

प्रदेश प्रमुखले पहिल्यै नै मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथिको छलफलका लागि समय र मिति नै तोकेर विशेष अधिवेशन डाकेकाले नियमित प्रक्रियाका रुपमा निरन्तरता दिइएको उनले बताए ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा अहिले ८० सदस्य छन् । तीमध्ये सभामुखसहित विपक्षी गठबन्धनमा ४२ र एमालेमा ३८ जना छन् । विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम) लाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका छन् ।

यो पनि पढ्नुहोस्

अन्तत: लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

लुम्बिनीको विशेष अधिवेशन आह्वानविरूद्धको रिट भट्टराईको इजलासमा

लुम्बिनीका मुख्यमन्त्री पोखरेललाई धपडी : मन्त्रिपरिषद् बैठकपछि संसदीय दलको बैठक जारी

लुम्बिनी प्रदेशमा अविश्वास प्रस्तावमाथि आज छलफल हुँदै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !