२१ बैशाख २०८१, शुक्रबार

एमालेमा अध्यक्ष मात्रै निर्वाचित हुने गरी बिधान संशोधन गर्ने प्रस्ताव


एमाले बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा अध्यक्ष मात्रै निर्वाचित हुने गरी बिधान संशोधन गर्ने प्रस्ताव गरिएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा अध्यक्ष केपी शर्मा ओली समूहका नेताहरु मात्र सहभागी भएको केन्द्रीय कमिटी बैठकमा सो प्रस्ताव गरिएको हो ।

विधान संशोधन समितिले अध्यक्ष र महासचिव मात्रै निर्वाचित गर्नुपर्ने प्रस्तावलाई केन्द्रीय कमिटीले परिमार्जन गर्दै अध्यक्ष मात्रै निर्वाचित हुने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

नेकपा एमालेमा अध्यक्षलाई थप शक्तिशाली बनाउने गरी यस्तो गरिएको हो । महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय कमिटी निर्वाचित हुने र बाँकी पदाधिकारीहरु केन्द्रीय कमिटीले निर्वाचित गर्ने प्रस्ताव गरिएको छ ।

महाधिवेशनबाट केन्द्रीय किमटीको संख्या २२५ बनाउनुपर्ने प्रस्ताव एमालले अघि सारेको छ । यी प्रस्तावहरु तल्लो कमिटीमा छलफलका लागि पठाइने र त्यहाँबाट आएका सुझावलाई विधान महाधिवेशनमा पेश गरिनेछ ।

सोमबार केन्द्रीय कमिटीमा पेस गरिएको विधान संशोधन प्रस्तावमा अध्यक्ष १, उपाध्यक्ष २, महासचिव १, उपमहासचिव २, सचिव ७ हुने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

जसमा १३ पदाधिकारी रहनेछन् भने स्थायी कमिटी खारेज गरेर सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटी हुनेछ । प्रदेश, जिल्ला र स्थायी तहका कमिटीमा अध्यक्ष, उपाध्यक्ष सचिव र दुई सहसचिव रहनेछन् । सबै कमिटीमा अध्यक्ष र कमिटी अधिवेशनबाट चुनिनेछ ।

यो पनि पढ्नुहोस्

एमाले केन्द्रीय कमिटीको बैठकले गर्यो विधान अधिवेशनका लागि चारवटा समिति गठन

एमाले बैठकमा ओलीसँग सन्किएर वामदेव लागे घर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !