१५ बैशाख २०८१, शनिबार

देउवाप्रति पौडेलको आक्रोश : सर्वत्र असफल व्यक्ति बारम्बार सत्ता सम्हाल्न पुगे


शेर बहादुर देउवा र रामचन्द्र पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाप्रति आक्रोशित हुँदै सर्वत्र असफल व्यक्ति बारम्बार सत्ता सम्हाल्न पुगेको बताएका छन् ।

सामाजिक संजाल फेसबुकमा आज बिहान लेख्दै उनले पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएकोमा असाधारण परिस्थिति भनेर एक वर्ष थपिनुका साथै देशको संविधानलाई समातेर ६ महिना बढाइएको प्रष्ट पारेका छन् ।

आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसंग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको उनले सभापति देउवालाई आरोप समेत लगाएका छन् ।

उनले यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापर्वाही अरु के हुन्छ ? भनेर देउवासँग प्रश्न गरेका छन् । यो देशकै विडम्वना भएको भन्दै सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता समाल्न पुग्ने गरेको दृष्टान्त नेपालमा भएको कटु सत्य प्रकट गरेका छन् ।

उनले लेखेका छन्, ‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो । आज आएर त्यस भित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोग संग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको छ । यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापर्वाही अरु के हुन्छ ? यो देशकै विडम्वना हो । सर्वत्र असफल व्यक्तिहरु वारंवार सत्ता समाल्न पुग्छन् ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !