२३ बैशाख २०८१, आइतबार

नेपाल समूहको केन्द्रीय समितिको दोस्रो दिनको बैठक आज बस्दै


माधव नेपाल फाइल फोटो

काठमाडौँ । नेकपा एमालेका असन्तुष्ट बरिष्ठ नेता माधव नेपाल समूहको केन्द्रीय समितिको दोस्रो दिनको बैठक आज बस्दै छ । हिजो बिहीबारदेखि शुरु भएको नेपाल समूहको केन्द्रीय समितिको बैठक आज शुक्रबार साढे ११ बजे काठमाडौँको बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बस्न लागेको हो ।

एमालेको नेपाल समूहको जारी बैठकले आफ्नो समूहको आगामी रणनीति तय गर्ने जनाइएको छ । पार्टी भित्रको विवादबारे महत्वपूर्ण सुझाव लिन नेता नेपालले आफू पक्षीय केन्द्रीय कमिटी सदस्यहरुको बोलाएको बैठक जारी रहेको हो ।

स्थायी कमिटीमा पटक-पटक छलफल गरे पनि स्पष्ट सुझाव पाउन नसेकेपछि केन्द्रीय कमिटी सदस्यहरुको समेत सुझाव लिएर अगाडि बढ्ने सोच नेपालले बनाएका हुन् । प्रतिनिधिसभा दोस्रो पटक पुनर्स्पापना भएर शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकार बनेपछि यो समूहको केन्द्रीय कमिटी बैठक जारी रहेको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्य गरेर पार्टीमै फर्किने वा नयाँ पार्टी गठन गर्ने भन्नेमा नेपाल समूहमा अझै मतभेद कायम रहेको छ । मुख्य रुपमा कार्यदलमा रही १० बुँदे सहमति गरेका नेपाल समूहका नेताहरु विभाजनमा जान नहुने र ओलीसँग सहमति गर्नुपर्ने पक्षमा छन् ।

तर, शेरबहादुर देउवालाई विश्वासको मत दिँदा नेता नेपाललाई साथ दिएका नेता तथा सांसदहरु भने ओलीसँग झुक्न नहुने अडानमा छ । आफ्नै समूहबीच देखिएको यो विभाजनका कारण नेपालले अझै आफ्नो स्पष्ट गन्तव्य तय गर्न सकेका छैनन् ।

हिजो पहिलो दिनको बैठकमा विजय पौडेल, झपट रावल, बलराम बाँस्कोटा, रामकुमारी झाँक्री, साविता भुसाल, शेरबहादुर केसी, रवीन्द्र अधिकारी, अनु नेपाल, चूडामणि जंगली, ठाकुर गैरे, भागवत विश्वासी, नागेन्द्र चौधरी, बलदेव चौधरी, भानुभक्त जोशी लगायतका केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेको बैठकपछि नेता रघुजी पन्तले जानकारी दिए ।

उनले केन्द्रीय सदस्यहरुले विचार राख्ने क्रम जारी रहेको जानकारी दिए । बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता माधव कुमार नेपालले एकता र वार्ताको प्रक्रिया अघि बढिरहेको भन्दै केही विषयमा सहमति भएको र केहीमा अझै वार्ता भइरहेको जानकारी दिएको पन्तले जानकारी दिए ।

हिजोको बैठकमा एमालेका वरिष्ठ नेता नेपालले पार्टी एकताका लागि आफूहरु तयार रहेको तर सम्मानजनक एकता हुनुपर्ने बताएका थिए । यस्तै हिजो बिहीबारको बैठकमा नेकपा एमाले कार्यदलका सदस्य भीम रावलले १० बुँदे एकता प्रस्तावबारे ब्रिफिङ समेत गरेका थिए ।

त्यस्तै हिजोको बैठकमा एमालेको नेपाल समूहका केन्द्रीय कमिटीका अधिकांश सदस्यले पार्टीको आन्तरिक समस्या समाधान कार्यदलले दिएको सुझाव र पहलबमोजिम एकताबद्ध पार्टी निर्माणको दिशामा अग्रसर हुनुपर्नेमा जोड दिएका थिए ।

सो समूहको हिजो शुरु भएको बैठकमा आफूहरू वर्तमान सरकारमा सहभागी हुने सम्भावना नभएको र प्रतिपक्षमा रहने भन्ने विषयमा दुईमत नभएको स्थायी कमिटीका सदस्य रघुजी पन्तले बताएका थिए । बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले अध्यक्ष केपी शर्मा ओली र नेता नेपाल समूहका कार्यदलका नेताहरूले पहल जारी राखेकाले समझदारी हुने विश्वास व्यक्त गरेका छन् ।

यो पनि पढ्नुहोस्

माधव नेपाल भन्छन्- पार्टी एकताका लागि तयार छौं तर सम्मानजनक हुनुपर्छ

हामी सरकारमा जाने कुनै सम्भावना छैन, विपक्षमा छौँ : रघुजी पन्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !