
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २४ घण्टे स्पष्टीकरण सोधेपछि एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह छलफलमा जुटेको छ । उनीहरुले पार्टी अनुशासन उलंघन गरेको भन्दै कारबाही गर्ने प्रस्ताव पेश भएकोमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिने निर्णय भएको हो ।
नेपाल समूहका एक नेताका अनुसार उक्त समूहको डल्लुमा बैठक जारी रहेको छ । ओलीले सोधेको स्पष्टीकरण, एकता प्रक्रिया र आगामी राजनीतिक कोर्सबारे छलफल गर्न नेताहरु जुटेका हुन् ।
ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बसेको केन्द्रीय कमिटीको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । ओलीले बोलाएको आजको केन्द्रीय कमिटी बैठकमा अनुपस्थित उक्त समूहका नेताहरु छलफलमा जुटेका हुन् ।
हिजो आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले उनको पक्षमा मतदान गरेका थिए । मत दिनेमा माधव नेपाल पक्ष मात्र नभई अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद पनि छन् ।
देउवालाई विश्वासको मत दिने नेपाल समूहका सांसदहरुमा माधव नेपालसहित विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी रहेका छन् ।
यस्तै विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका नेपाल समूहका १८ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।
यस्तै एमालेका अध्यक्ष ओलीले एमालेका बरिष्ठ नेता नेपाल एमालेमा नफर्कने निष्कर्षमा पुगेका छन् । आज सोमबार बसेको केन्द्रीय कमिटीको बैठकमा ओलीसहितका नेताले नेपाल एमालेमा नफर्कने निष्कर्ष निकालेको एक नेताले जानकारी दिए ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटीको बैठकपछि भक्तपुर बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवासमा स्थायी कमिटी बैठक जरी रहेको छ ।
यो पनि पढ्नुहोस्
एमालेको केन्द्रीय कमिटीको बैठक सकियो, बालकोटमा स्थायी कमिटी बैठक बस्दै
देउवालाई विश्वासको मत दिने २२ सांसदलाई एमालेले सोघ्यो २४ घण्टे स्पष्टीकरण