८ बैशाख २०८१, शनिबार

एमालेको केन्द्रीय कमिटीको बैठक सकियो, बालकोटमा स्थायी कमिटी बैठक बस्दै


केन्द्रीय कमिटीको बैठक फाइल फोटो

काठमाडौं । नेकपा एमालेको आज बसेको केन्द्रीय कमिटीको बैठक सकिएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटीको बैठकपछि भक्तपुर बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवासमा स्थायी कमिटी बैठक बस्दैछ ।

एमालेको आज बसेको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपालसहित २२ जना सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । उनीहरुले पार्टी अनुशासन उलंघन गरेको भन्दै कारबाही गर्ने प्रस्ताव पेश भएकोमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिने निर्णय भएको हो ।

यस्तै एमालेका अध्यक्ष ओलीले एमालेका बरिष्ठ नेता नेपाल एमालेमा नफर्कने निष्कर्षमा पुगेका छन् । आज सोमबार बसेको केन्द्रीय कमिटीको बैठकमा ओलीसहितका नेताले नेपाल एमालेमा नफर्कने निष्कर्ष निकालेको एक नेताले जानकारी दिए ।

आज बसेको केन्द्रीय कमिटीको १० औं बैठकले १० बुँदे एकता प्रस्ताव पारित गर्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने निर्णय गरेको छ । ज्ञवालीले गत जेठ २३ गते अध्यक्ष ओलीले गरेको पार्टी एकताको आह्वान र गत असार २७ गते कार्यदलले तयार पारेको १० बुँदे कार्यान्वयन सुरु गरेको दावी समेत गरे ।

एमालेको केन्द्रिय कमिटी बैठक भोलि ३ बजे पुन: बस्ने भएको छ । पछिल्लो राजनीतिक अवस्थाबारे विश्लेषण गरी भोलिको बैठकका कार्यसूची तय गर्न एमाले स्थायी कमिटी बैठक बस्न लागेको हो ।

२२ जना संसदहरुलाई २४ घण्टे स्पष्टीकरण सोधिएपछि उनीहरूलाई के कस्तो कारवाही गर्ने भन्नेबारे स्थायी कमिटीमा छलफल हुने बताइएको छ । साथै माधव नेपाल समूहका रहेका तर शेरबहादुर देउवालाई विश्वासको मत नदिई पार्टी एकताको पक्षमा उभिएका नेताहरूलाई कसरी समेट्ने भन्ने बारेमा पनि बैठमा छलफल हुने बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !