२५ बैशाख २०८१, मंगलबार

एमाले स्थायी कमिटीको बैठकमा आज पनि नेपाल समुह अनुपस्थित


एमाले स्थायी कमिटी बैठक

काठमाडौँ । नेकपा एमाले स्थायी कमिटीको बैठकमा आज पनि माधव नेपाल समूह अनुपस्थित भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी रहेको हो ।

पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न र विधान अधिवेशनको तयारी गर्नका लागि बैठक आयोजना गरिएको बताए । उनका पार्टी संरचना २०७५ जेठ २ गते अगाडि फर्काउँदै आइतबारको बैठकमा नेपाल पक्षका नेतालाई समेत डाँकिएको थियो ।

तर नेपाल पक्षका कुनै नेता बैठकमा सहभागी भएका छैनन् । यस्तै उपाध्यक्ष वामदेव गौतम पनि बैठकमा सहभागी भएका छैनन् । यसअघि पनि शुक्रबारको बैठकमा नेपाल समूह अनुपस्थित रहेको थियो ।

शुक्रबारको बैठकले पार्टीको विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको १० बुँदे सहमतिलाई अनुमोदन गरेको थियो । एमालेले यही साउन २५ देखि २७ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।

दोस्रो पटक पुनर्स्थापना भएको प्रतिनिधि सभाको बैठक पनि आज अपराह्न ४ बजे बस्दैछ । यता प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको बैठकअघि बसिरहेको एमालेले स्थायी कमिटी बैठकलाई चासोका साथ हेरिएको छ ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा केही सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने स्पष्ट पारेका छन् ।
तर एमाले एकताका लागि गठित कार्यदलमा रहेका नेपाल पक्षीय नेताहरू भने देउवालाई विश्वासको मत दिने पक्षमा छैनन् ।

यसअघि एमालेको ओली पक्षले भने देउवालाई विश्वासको मत नदिने बताइसकेको छ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूह आन्तरिक छलफ‍लमा जुटेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गरेपछि नेपाल समूह आन्तरिक छलफलमा जुटेको हो ।

स्रोतका अनुसार अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न आन्तरिक छलफल गरिएको हो । छलफलबाट केही समपछि निर्णय लिइने भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !