१४ बैशाख २०८१, शुक्रबार

नेपाल समूहका केही सांसदको स्पष्टोक्ति : देउवालाई विश्वासको मत दिन्छौँ


बिरोध खतिवडा, रामकुमारी झाक्री र मेटमणि चौधरी

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा केही सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने स्पष्ट पारेका छन् ।

यदि देउवाले विश्वासको मत गुमाए पुन संसद् विघटन हुने भएकोले माधव समूहका सांसदले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने भएका हुन् ।

उनीहरूले यसबारेमा अहिले पार्टीले निर्णय गर्नुपर्ने आवश्यक नरहेको भन्दै आफूहरू पहिलेदेखि नै संसद् पूर्णकाल चल्नुपर्ने पक्षमा उभिएकाले अहिले पनि जे गर्दा संसद् पुरा अवधि चल्न सक्छ सोही गर्ने बताएका छन् ।

एमाले सांसद विरोध खतिवडाले आफूहरूले देउवालाई विश्वासको मत दिने बताए । संसदलाई पूर्ण कार्यकाल चल्न दिने नीतिअनुसार मत दिने उनको भनाइ छ ।

सांसद रामकुमारी झाँक्रीले देउवाको पक्षमा आफूहरूले हस्ताक्षर गरिसकेकाले विश्वासको मत दिने बताएकी छन् । त्यस्तै अर्का सांसद मेटमणि चौधरीले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बताएका छन् ।

तर एमाले एकताका लागि गठित कार्यदलमा रहेका नेपाल पक्षीय नेताहरू भने देउवालाई विश्वासको मत दिने पक्षमा छैनन् । यसअघि एमालेको ओली पक्षले भने देउवालाई विश्वासको मत नदिने बताइसकेको छ ।

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूह आन्तरिक छलफ‍लमा जुटेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गरेपछि नेपाल समूह आन्तरिक छलफलमा जुटेको हो ।

स्रोतका अनुसार अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न आन्तरिक छलफल गरिएको हो । छलफलबाट केही समपछि निर्णय लिइने भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !