२२ बैशाख २०८१, शनिबार

एमालेलाई एकताबद्ध बनाइने निष्कर्ष निकालेलगतै नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड


प्रचण्ड-नेपाल समूह फाइल फोटो

काठमाडौँ । नेकपा एमालेलाई १० बुँदे सहमितका आधारमा नै पार्टीलाई एकताबद्ध बनाइने निष्कर्ष निकालेलगतै नेता माधव नेपाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर पुग्नुलाई अर्थ पूर्ण रुपमा हेरिएको छ ।

आज शनिबार दिउँसो साढे १ बजे नेता नेपाललाई भेट्न प्रचण्ड उनको निवास कोटेश्वर पुगेका हुन् । दुई नेताबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल जारी रहेको नेपाल स्रोतले जानकारी दिएको छ ।

पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन भोलिदेखि शुरु हुँदैछ । प्रधानमन्त्री शेरवहादुर देउवाले विश्वासको मत लिनुपर्ने अवस्थामा गठबन्धनको रणनीतिबारे छलफल गर्न प्रचण्ड माधव नेपाल निवास पुगेको बताइएको छ ।

साथै सत्तारुढ गठबन्धनका आगामी चुनौती लगायतका विषयमा छलफल भइरहेको बुझिएको छ । पछिल्लो समय नेता नेपाल सत्ता गठबन्धनको बैठकमा सहभागी भएका थिएनन् ।

नेपालसँग केही दिनअघि प्रधानमन्त्री देउवाले पनि उनकै निवास गरेर छलफल गरेका थिए । छलफलमा नेपालले संसद बचाउन भएपनि सरकारलाई विश्वासको मत दिने बताएका थिए ।

यता नेपाल पक्षको आग्रह विपरित ओलीले धमाधम नेकपा एमालेको स्थायी कमिटी र केन्द्रिय कमिटी बैठक आह्वान गरेका छन् । एमालेको स्थायी कमिटी बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आइतबार बिहान ११ बजे र ४ गते सोमबार ११ बजे नै केन्द्रिय कमिटी बैठक बस्ने भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !