२० बैशाख २०८१, बिहिबार

बालकोट पुगेर ओलीले भने- माधव लाजशरम पचेका, आत्मालोचना अस्वीकार्य


निवर्तमान प्रधानमन्त्री ओली निजी निवास बालकोट पुगे

काठमाडौँ । झन्डै ४१ महिनापछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट बाहिरिएका छन् । ओलीले आफ्नो निजी निवास बालकोट पुगेका छन् । ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता कार्यकर्ताले स्कर्टिङ र स्वागत गर्दै ल्याएका छन् ।

सयौं मोटरसाइकल र गाडीले स्कर्टिङ र स्वागत गर्दै भक्तपुरको कौशलटारदेखि बालकोट निवाससम्म पुर्याएका हुन् । ओलीलाई बुधबार दिउँसो नेकपा एमालेको भातृ संगठन युथ फोर्स र युवा संघका नेता तथा कार्यकर्ताले बाजागाजासहित र्‍याली र प्रदर्शन गरेर बालकोट पुर्‍याएका छन् ।

भक्तपुरको बालकोटस्थित आफ्नो घरमा पुगेपछि निवर्तमान प्रधानमन्त्री ओलीले छोटो सम्बोधन गर्दै एमालेका वरिष्ठ नेता माधव नेपाललाई लाजशरम हराएका मानिसहरू भनेका थिए । ओलीले भने, ‘आफ्नै पार्टीको सरकार ढाल्नका लागि कहिले राष्ट्रपतिकहाँ विरोधीलाई लाइन लगाएर, माधव नेपालजस्ता लाजशरम हराएका मानिसहरू ।’

उनले यसो भन्दा कार्यकर्ताले माधव नेपाललाई पार्टीबाट निकाल्नुपर्ने भन्दै नाराबाजी गरेका थिए । ओलीले पार्टीका वरिष्ठ नेता नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको आरोप समेत लगाए ।

उनले पार्टीका नेताहरूलाई गल्ती स्वीकार गरेर आएमा काम गर्न दिइने बताएका थिए । तर माधव नेपालका हकमा गल्ती कमीकमजोरी स्वीकार्य कुनै ठाउँ नरहेको ओलीको भनाइ थियो । उनले भने, ‘माधव नेपालको हकमा गल्ती कमजोरी स्वीकार गर्ने आत्मालोचना गर्ने कुनै ठाउँ छैन ।’

ओलीले अदालतको फैसलाप्रति असन्तुष्टि जनाउदै आफूलाई कुनै गल्तीविना अकारण हटाइएको ओलीको दाबी थियो । उनले भने, ‘अदालतबाट प्रधानमन्त्री तोक्ने विश्वमा कहीँ नभएको जात्रा सर्वोच्च अदालतमा भयो ।’

ओलीले थप्दै भने, ‘जनादेशबाट होइन परमादेशबाट अकारण, कुनै गल्ती गरेर होइन । काम गर्न नसकेर होइन । असंवैधानिक फैसलाबाट जनादेश विपरीत, जनतामा जान नदिएर अदालतबाट प्रधानमन्त्री तोक्ने गलत नजिर, विश्वमा कहीँ नभएको नजिर कायम गरेर नेपाली जनतामाथि, लोकतन्त्रमाथि अतिक्रमण भएको छ।’

उनले नेपाली जनताले आवधिक मूल्यांकन गर्ने अधिकार खोसिएको पनि बताए । उनले देशका लागि राम्रो काम गरेको र विकास गरेकोले ग्लानी नभएको पनि बताए ।

सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि पदमुक्त भएका ओलीले आज बुधबार बिहान साढे ११ बजेतिर बालुवाटार छोडेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !