२१ बैशाख २०८१, शुक्रबार

आज सानो आकारको मन्त्रिमण्डल बनाउने देउवाको तयारी


शेरबहादुर देउवा

काठमाडौं । सर्वोच्च अदालतको आदेशअनुसार प्रधानमन्त्री बन्न लागेका नेपाली काँग्रेसका सभापति समेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाले आज सानो आकारको मन्त्रिमण्डल बनाउने भएका छन् ।

हिजो कोटेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकले देउवाको नेतृत्वमा संयुक्त सरकार बनाउने निर्णय गर्नुका साथै आज सानो आकारको मन्त्रिमण्डल बनाउने निर्णय गरेको बैठकमा सहभागी नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले बताएका थिए ।

सर्वोच्चले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेसंगै बसेको गठबन्धनको बैठकले संयुक्त सरकार बनाउने निर्णय गरेको हो । खाँडका अनुसार आज बन्ने सरकारलाई सबै दललाई समेटेर सर्वदलीय स्वरुप दिन प्रयत्नरत रहने उनले बताएका थिए ।

सोमबार सर्वोच्च अदालतले आज मंगलबार अपरान्ह ५ बजेभित्र देउवालाई प्रधानमन्त्रीको सपथ गराउन आदेश दिएको थियो । आज मंगलबार बिहान बस्ने विपक्षी गठबन्धनका शीर्ष नेताहरूको बैठकले सरकारमा सहभागी हुने नेताहरूको नाम तय गर्ने भएको छ ।

संविधान रक्षाका लागि सबै पक्षलाई समेटेर सरकार गठनको पहल गर्ने समझदारी गरेको गठबन्धनले त्यसकै आधारमा मन्त्रिपरिषद् विस्तार गर्दै जाने तयारी गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति देउवालाई आज मंगलबार प्रधानमन्त्री नियुक्त गर्ने भएकी छन् । अदालतले २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न हिजो सोमबार परमादेश दिएपछि राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति र शपथबारे देउवालाई जानकारी गराएकी हुन् ।

राष्ट्रपति कार्यालयको तयारीबारे जानकारी पाएपछि देउवाले आज मंगलबारै सानो मन्त्रिपरिषद् बनाउने र गठबन्धनलाई अघि बढाउने योजनाबारे छलफल गरेका छन् । कांग्रेस नेता बालकृष्ण खाँणका अनुसार पहिलो चरणमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र समूहबाट सानो मन्त्रिपरिषद् बन्नेछ ।

गठबन्धनमा आबद्ध एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष भने सरकारमा नजाने भएको छ । अदालतको फैसलालगत्तै आफैंले बोलाएको गठबन्धन बैठकमा नेता नेपालले एमालेभित्र एकता प्रयास अघि बढेकाले तत्काल सरकारमा जान र गठबन्धनमा आबद्ध भइरहन अप्ठ्यारो परेको बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !