२६ बैशाख २०८१, बुधबार

एमाले एकताको लागि ओली र नेपाल समूह सहमति नजिक


एमाले कार्यदल बैठक फाइल फोटो

काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक सम्पन्न भएको छ । कार्यदलका सदस्य प्रदीप ज्ञवालीले कार्यदलले सहमतिको दस्तावेज तयार पारेको जानकारी दिए । प्रदीप ज्ञवालीले लामो समयको छलफलपछि सहमतिको नजिक पुगेको दाबी गरे ।

उनले विवाद समाधानको सहमतिको विन्दुमा पुगेको र भाषिक शुद्धता मिलाउन बाँकी रहेकोले भोलि बैठक पूनः बस्ने र टुँगो लगाउन जनाए । कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट विष्णु पौडेल संयोजक छन् ।

बैठकपछि ज्ञवालीले भने, “कार्यदलको आजको बैठक हामीले निकै लामो, निकै सौहार्द र सघन छलफलमा विताएका छौं । झण्डै झण्डै ७ घण्टा व्यतित गरेका छौं र बैठकबाट हामी पार्टीको एकतालाई सुदृढ गर्ने सन्दर्भमा सहमतिमा पुगेका छौं । सहमतिको दस्ताबेजलाई अन्तिम रुप दिन केही भाषिक परिमार्जन लगायतका केही विषयमा भोलि एकछिन हामी बस्नुपर्ने भएका कारणले भोलिसम्मका हामीले बैठक स्थगित गरेका छौं ।”

उनले भने, “यति चाहिँ म तपाईहरुलाई शेयर गर्न चाहन्छु कि हामी अहिलेका जति पनि प्रश्नहरु छन्, त्यसलाई सहमतिको विन्दुमा ल्याइपुर्‍याएका छौं । त्यसकारण अब नेकपा एमालेका नेता कार्यकर्ता र समर्थक शुभचिन्तकहरुले पार्टीको भविश्य के होला भन्नेबारे उहाँहरुको चिन्तालाई दुर गर्ने गरी हामी सहमतिका साथै यो बैठकलाई टंग्याउने छौं ।”

सदस्यहरुमा सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । उता, वरिष्ठ नेता माधव नेपालको तर्फबाट संयोजकमा भीम रावल छन् । र, सदस्यहरुमा रघुजी पन्त, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र गोकर्ण विष्ट छन् । कार्यदलको बैठक जारी रहेको समयमा दुवै तर्फका एक एक नेताहरु ओली र नेपाललाई मस्यौदाको खाका देखाउन गएका थिए । ओलीको तर्फबाट शंकर पोखरेल गएका थिए भने नेपालको तर्फबाट पन्त गएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !