२० बैशाख २०८१, बिहिबार

माधव नेपाललाई मनाउन एमाले वार्ता टाेलीका ६ नेताहरु कोटेश्वरमा


एमाले कार्यदल बैठक फाइल फोटो

काठमाडौँ । पार्टीको आन्तरिक विवादले विभाजन नजिक पुगेको नेकपा एमालेको एकता कायम गर्नका लागि अनौपचारिक वार्ता गरिरहेका दुवै समूहका ६ नेताहरु माधव कुमार नेपाललाई फकाउन उनकै निवास कोटेश्वर पुगेका छन् ।

एमाले वार्ता टोलीका केपी ओली समूहका शंकर पोखरेल, सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेलका साथै माधव नेपाल समूहका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम आचार्य गरी दुवै समूहका ६ जना नेताहरु नेपाललाई मनाउन उनको निवासमा गएका हुन् ।

केही दिनयता नियमित छलफल गरेर सहमतिको मस्यौदा समेत बनाइसकेका नेताहरुले संयुक्त रुपमा नेपाललाई वार्तामा भएका विषयको ब्रिफिङ गरेका गर्दैछन् । हिजो शनिबार मात्र दुई समूहका ६ जना नेताहरुबीच ललितपुरको समिट होटलमा वार्ता भएको थियो ।

सो वार्तामा सर्वोच्च अदालतमा बुझाइएको हस्ताक्षरलाई सहमतिको पूर्व शर्त बनाउने सहमति भएको थियो । यसबारेमा प्रधानमन्त्री ओलीसँग कुरा राख्ने भन्दै शंकर पोखरेल, सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल बालुवाटार फर्केका थिए ।

बालुवाटारमा हिजो अपरान्ह बसेको ओली समूहको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री ओलीले हस्ताक्षर फिर्ता नभएसम्म कुनै कुरा नगर्ने भन्दै माधव समूहलाई कारवाही गरिने बताउदै वार्ताको भ्रममा परेर नअल्झन समेत ओलीले पार्टीका नेताहरुलाई अवगत गराएका थिए ।

एमाले विशेष स्रोतका अनुसार शंकर पोखरेल, सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल पार्टी एकताको पक्षमा रहेका छन् भने केपी ओली, विष्णु रिमाल लगायतका नेताहरु भने हस्ताक्षर फिर्ता नलिए माधव नेपाल समूहलाई कारवाही कारवाही गरेर अगाडि बढ्ने पक्षमा देखिएका छन् ।

एमालेको केन्द्रीय कमिटी बैठकले भोलि सोमवार साँझसम्म शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिने दिएको समयसीमासम्म हस्ताक्षर फिर्ता नभए एकताको औचित्य सकिने अध्यक्ष ओलीले बताइसकेका छन् । एमाले बैठकले माधव नेपाललाई विपक्षी गठबन्धन वा एमालेमध्ये एक रोज्न विकल्प दिएको भोलिपल्ट वार्ता टोलीका नेताहरुले नेपाललाई भेटेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !