१४ बैशाख २०८१, शुक्रबार

जसपाको ठाकुर पक्षसँग निर्वाचन आयोगले माग्यो लिखित जवाफ


महन्थ ठाकुर

काठमाडौँ । निर्वाचन आयोग जनता समाजवादी पार्टी (जसपा) मा देखिएको आधिकारिता सम्बन्धी विवादको निरूपण प्रक्रियामा प्रवेश गरेको छ । आयोगले आइतबार जसपाका अध्यक्ष महन्थ ठाकुरलाई लिखित जवाफ पेस गर्न १५ दिन समय दिएको छ ।

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले शुक्रबार दलको आधिकारिताको माग दाबी गर्दै आयोगमा निवेदन दिएका थिए । मागदाबी आइसकेपछि आयोगले अर्को पक्षसग मागदाबी गर्दा पेश भएका कागजात तथा प्रमाणको प्रतिलिपि पठाएर लिखित जवाफ माग्नुपर्ने कानुनी प्रावधान छ ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ मा विवाद निरूपण सम्बन्धी कार्यविधि छ । आधिकारिकता मागदाबी गर्ने पक्षले केन्द्रीय समितिको ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित अयाोगमा निवेदन दिनुपर्छ ।

यादवले ५१ सदस्यीय कार्यकारिणी समितिमा रहेका ३० जनाको हस्ताक्षरसहित दलको आधिकारिता आफूले पाउनुपर्ने मागदाबी गरेका छन् । आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले विवाद निरूपणका लागि ऐनले तोकेको कार्यविधि अनुसारको प्रक्रिया थालनी भएको बताए ।

ठाकुर पक्षले पाएको १५ दिनको समयमा जवाफ दिन नभ्याएर समय माग गरे आयोगले थप १० दिन दिन सक्नेछ । त्यसपछि आयोगले दुवै पक्षलाई सहमति गर्ने अवसर पनि प्रदान गर्नुपर्नेछ । यी प्रक्रियाले समय लिने भएकाले विवाद निरूपणका लागि डेढ–दुई महिना लाग्न सक्ने आयोगका अधिकारीहरूको आंकलन छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !