१४ बैशाख २०८१, शुक्रबार

गण्डकी प्रदेश प्रमुख पौडेलले नयाँ मुख्यमन्त्रीको छिनोफानो भोलि गर्ने


सीताकुमारी पौडेल

पोखरा । गण्डकी प्रदेशकी प्रमुख सीताकुमारी पौडेलले नयाँ मुख्यमन्त्रीको छिनोफानो भोलि गर्ने भएकी छन् । प्रदेश प्रमुख पौडेलले नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठन गर्न मुख्यमन्त्री नियुक्तिका लागि दावी गर्न प्रदेशसभाका सदस्यलाई आह्वान गरेपछि विपक्षी गठबन्धनले बहुमत सांसदहरुको हस्ताक्षरसहित आज दावी पेश गरेको छ ।

विपक्षी गठबन्धनले बहुमत ३१ सांसदको हस्ताक्षर गण्डकी प्रदेश प्रमुख पौडेल समक्ष बुझाएका छन् । नेपाली कांग्रेसको प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा प्रदेश प्रमुखको निवासमा उपस्थित भएर सांसदले हस्ताक्षर बुझाएका हुन् ।

नेपालीले प्रदेश प्रमुखलाई सजिलो होस् भनेर प्रदेश सदस्यहरु उपस्थित भएकोले सनाखत गर्न आग्रह गरेकोमा प्रदेश प्रमुख पौडेलले सनाखत कर्मचारीको अगाडि भोलि गरौंला भन्ने जवाफ दिएकी छन् ।

युवा तथा खेलकुद मन्त्रीबाट राजीनामा दिएका दीपक मनाङेले विपक्षी गठबन्धनलाई समर्थन गरेपछि आफ्नो पक्षमा ३१ सांसद्‍को स्पष्ट बहुमत भएको पनि मुख्यमन्त्रीका दावेदार नेपालीले बताएका छन् ।

मुख्यमन्त्रीको दावेदार नेपालीले भने बजेट ल्याउनुपर्ने समयको चापलाई मध्यनजर गर्दै छिट्टै निर्णय गर्न आग्रह गरेका थिए । प्रदेश प्रमुखले बहुमतसहित सरकार गठन दावीका लागि भोलि २९ गते शनिबार अपराह्न ३ बजेसम्मको समयसीमा दिएकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !