१५ बैशाख २०८१, शनिबार

एमालेको नेपाल पक्षका सांसदको मतले जोगियो माओवादीको सुदूरपश्चिम सरकार


त्रिलोचन भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज मङ्गलबार प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । प्रदेशसभामा उपस्थित ५१ जना सांसदमध्ये ३० जनाले भट्टको पक्षमा मतदान गरेका छन् ।

५२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक पर्दथ्यो । ९ जना सांसदले विपक्षमा मतदान गरेका हुन् । कांग्रेसका १२ जना सांसदले भने मतदानमा सहभागी नभई तटस्थ बसेका छन् ।

सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्री भट्टको दल नेकपा माओवादी केन्द्रका १३ सांसद छन् । प्रदेशसभाको सबैभन्दा ठुलो दल रहेको एमालेका २५ सांसदमध्ये ओली पक्षका ७ जनामात्र छन् भने खनाल–नेपाल पक्षका १८ जना रहेका छन् । यस्तै प्रदेशसभामा काँग्रेसका १२ र जसपाका २ जना सांसद रहेका छन् ।

सुदूरपश्चिम प्रदेश नेकपा माओवादी केन्द्रको संसदीय दलका नेतासमेत रहेका भट्टलाई नेकपा एमालेको माधव नेपाल समूहले पनि मत दिएपछि उनको सरकार जोगिएको हो । नेपाली कांग्रेसले उनको सरकार ढल्न नदिने बताएपनि पक्ष-विपक्षमा मतदान भने गरेन ।

सुदूरपश्चिम प्रदेश सरकारले विश्वासको मत पाएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव पेश गरेपछि सभामुखले निर्णयार्थ पेश गर्दा उनको पक्षमा बहुमत पुगेको हो ।

मुख्यमन्त्री भट्टले एमालेभित्रको विवादकै कारण विश्वासको मत लिनु परेको थियो भने एमालेकै सांसदको मतको कारण सरकार जोगिएको छ । मुख्यमन्त्रीलाई माओवादीसहित एमालेले समर्थन गर्ने निर्णय औपचारिक निर्णय गरेको थियो भने काँग्रेसले आवश्यकताअनुसार विश्वासको मत दिने निर्णय गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !