२४ बैशाख २०८१, सोमबार

राजेन्द्र महतोको अभिव्यक्तिप्रति खनाल-नेपाल समूहका १५ नेताको आपत्ति


झलनाथ खनाल र माधव नेपाल फाइल फोटो

काठमाडौं । उपप्रधानमन्त्री राजेन्द्र महतोले पदभार ग्रहण लगत्तै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनुपर्ने दिएको अभिब्यक्तिप्रति एमालेको झलनाथ खनाल-माधव नेपाल समूहका १५ जना नेताले आपत्ति प्रकट गरेका छन् ।

आज शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले महतोको संविधान विरोधी उक्त अभिव्यक्तिबारे प्रष्ट पार्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग पनि गरेका छन् । महतोको अभिव्यक्ति संविधान विरोधी भएको र कुनैपनि देशभक्त नेपालीलाई स्वीकार गर्न नसक्ने समेत उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल समूहका यी नेताहरुले नेपाली जनताबाट अस्वीकृत बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई महतोले पुनः उठाएकोमा आपत्ति जनाएका हुन् । महतोको उक्त अभिव्यक्ति संविधानको धारा ३ मा उल्लेखित व्यवस्थाको विरुद्ध भएको समेत ती नेताहरुको आरोप छ ।

उक्त विज्ञप्तिमा भनिएको छ, ‘विगतमा टुंगो लागिसकेको तथा संविधानसभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोर्‍याइ यसका लागि कथित मुक्ति संग्रामको कुरा गरी राष्ट्रिय हित र अखण्डता विरोधी अभिव्यक्ति दिनु निन्दनीय छ ।’

उक्त विज्ञप्ति जारी गर्नेहरुमा झलनाथ खनाल, माधव नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रघुजी पन्त, वेदुराम भुसाल, अमृतकुमार बोहरा र प्रमेश हमाल रहेका छन् ।

राजेन्द्र महतोको अभिव्यक्तिप्रति नेपाल समूहका १५ नेताको आपत्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !