२४ बैशाख २०८१, सोमबार

एमालेको खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै


झलनाथ खनाल र माधव नेपाल फाइल फोटो

काठमाडौँ । नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दै छ । कोरोना महामारीका कारण भर्चुअल माध्यमवाट आज शनिबार दिउसो १ बजेदेखि बस्ने भएको हो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले जसपाको महन्थ ठाकुर पक्षलाई सरकारमा भित्र्याएर ब्यापक रूपमा मन्त्रिपरिषद् हेरफेर गरेको भोलिपल्ट बस्न लागेको बैठकलाई चासोका साथ हेरिएको छ ।

यसअघि उक्त समूहको भर्चुअल माध्यमवाट बिहीबार र शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष ओली समूहसँग वार्ताको ढोका खुल्ला राख्ने तर वार्ता धेरै नलम्ब्याउने निचोड निकालेको थियो ।

अस्ति विहीबार र हिजो शुक्रबार केन्द्रीय सदस्यबाट आएको रायमाथि विमर्श गरिने एक स्थायी कमिटी सदस्यले जानकारी दिइन् । साथै बैठकमा अव कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने जनाएको छ ।

नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाललाई आफ्नै समूहका ४ जना प्रभावशाली नेताहरुले ध्यानाकर्षण पत्र बुझाउदै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जोगाएमा आफूहरु सिद्धिने चेतावनी समेत दिएका छन् ।

नेताले २०७५ जेठ २ मा फर्किने भन्ने एजेण्डा राजनीतिक र वैचारिक नभएको भन्दै यत्तिकै भरमा केपी ओलीसँग मिल्दा घरको न घाटको भइने तीतो सत्य बताएका छन् । उनीहरुले अब फेरि पनि ओलीसँग सम्झौता गर्ने हो भने खनाल-नेपाल समूहको राजनीति सिद्धिने ध्यानाकर्षण गरेका हुन् ।

एमाले केन्द्रीय सदस्यहरु प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, विजय पौडेल र राजेन्द्रकुमार राईले खनाल र नेपाललाई लिखित सुझाव दिदै आजको पहिलो शर्त केपी ओली सरकारको वहिर्गमन र राजनीतिक दलहरुको सहयकार्य नै रहेको स्पष्ट पारेका छन् ।

दुवै समूहका फरक फरक रणनीतिले माले एकता दिनप्रतिदिन धरापमा पर्दै गएको छ । नेता नेपालले बुधबार जनवर्गींय संगठनका नेताहरुसँग भर्चुअल बैठक गर्दै ओली सच्चिने ठाँउ नरहेकाले अब वैकल्पिक तयारीमा लाग्ने बेला आएको बताएका थिए ।

बैठकमा नेपालले संसद पुनस्थापनाको सम्भावना देखेपछि ओलीले फेरि पार्टी एकताको कार्ड फालेको समेत सुनाएको विद्यार्थी संगठनका एक नेताले बताए । उनका अनुसार नेपालले ओलीसँग कुनै ठोस प्रगति नभएको, ओली सच्चिने संकेत नमिलेको र फेरि जेठ २ मा फर्कने भनेर वक्तव्यबाजी पनि गर्न सक्ने बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !