२१ बैशाख २०८१, शुक्रबार

वामदेवको खुलासा : एमालेमा ३ नेता गणतन्त्रको विपक्षमा थिए

बामदेवले दिए गिरिजा, प्रचण्ड र माधव नेपाललाई गणतन्त्रका महानायकको संज्ञा


वामदेव गौतम

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा एमालेको केन्द्रीय कमिटीको वहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता विरुद्धमा भएको खुलासा गरेका छन् ।

आज शनिबार १४ औं गणतन्त्र दिवसका अवसरमा शुभकामना दिंदै गौतमले एमालेभित्रका गणतन्त्र विरोधी नेताहरुको स्मरण गरेतापनि ती नेताहरुको नाम भने लिएका छैनन् । साथै उक्त बैठकमा अव संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति आफू भएको स्मरण समेत गरेका छन् ।

नेपालमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणाको पृष्ठभूमिमा हजारौ नेता कार्यकर्ता तथा अन्य नेपाली जनताको शहादत, त्याग तपस्या र समर्पण रहेको सर्वविदितै भएको समेत उल्लेख गरेका छन् ।

एमाले नेता गौतमले आज १४ औं गणतन्त्र दिवसको अवसरमा सबै शहीदहरुलाई श्रद्धाञ्जली र सम्मान प्रकट गर्दै शहीदको सपना साकार पार्न नेपाली जनतालाई दृढतापूर्वक अगाडि बढ्न आह्वान गरेका छन् ।

गौतमले गणतन्त्र स्थापनामा गिरिजाप्रसाद कोइराला, माधव नेपाल र प्रचण्डले भूमिका खेलेको भन्दै तीनै नेतालाई महानायकको संज्ञा दिएका छन् ।

गौतमले लेखेका छन्, ‘वि.स.२०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई ल्याई पुर्याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजा प्रसाद कोइराला , नेकपा एमालेका महासचिव माधव कुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड हुनुहुन्थ्यो। उहाँहरु मध्ये गिरिजा प्रसाद कोइराला हामी वीच हुनुहुन्न अरु दुइजना भने नेपाली राजनीतिमा सक्रिय नै हुनुहुन्छ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !