२४ बैशाख २०८१, सोमबार

दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन माधव नेपालको माग


माधव नेपाल फाइल फोटो

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले चितवनको दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई माग गरेका छन् ।

एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औं स्मृति दिवसको अवसरमा नेता नेपालले एक विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् ।

नेता नेपालले भनेका छन्, ‘जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आएन । घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले यस घटनालाई झनै रहस्यमय बनाएको छ । त्यसैले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्न चाहन्छु ।’

नेकपा एमालेको विधान, विधि, सिद्धान्त, नीति र आदर्श अनुरुप पार्टी र सरकारलाई अघि बढाउन सके मात्रै मदन–आश्रितले देखेका सपना साकार हुने नेपालको भनाइ छ । देशको संविधान र पार्टीको विधानको सम्मान गर्दै विगतका गल्तिहरुलाई सच्चाएर हिंड्ने प्रण गरेमा मात्र मदन–आश्रितप्रति सच्चा श्रद्धाञ्जली हुने नेपालको भनाइ छ ।

यसअघि माओवादी केन्द्र छोडेर नेकपा एमालेमा प्रवेश गरेका ओली समूहका नेता तथा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मदन भण्डारीको हत्यामा जोडिएका अमर लामाको मृत्युबारे धेरै रहस्य रहेको बताएका थिए । भट्टले दरबार हत्याकाण्डको प्रतिवेदन जस्तै अमर लामा मारिएको प्रतिवेदन पनि सार्वजनिक नभएको बताए ।

२०७७ साल माघ २६ गते सोमबार प्रेस संगठन नेपालको सुदूरपश्चिम प्रदेश भेलामा बोल्दै भट्टले भनेका थिए, ‘मदन भण्डारीको हत्यामा कहिँ न कहिँ षड्यन्त्रमा केपी ओलीको छ भनेर बाहिर हल्ला फिजाइएको थियो । पछि बुझ्दै जाँदा त त्यतिखेर नेतृत्वमा त माधव नेपाल हुनुहुने रहेँछ ।’

२०५० साल जेठ ३ गते चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा भएको जिप दुर्घटनामा मदन–आश्रित मृत्यु भएको थियो । दासढुंगा काण्डलाई ‘रहस्यमय’ भन्ने गरिन्छ ।

सो घटनायता पटक–पटक सरकारमा पुग्दा पनि सत्यतथ्य पत्ता लगाउन नसकेको भन्दै एमालेको आलोचना हुने गरेको छ । उद्योगमन्त्री भट्टको यस्तो आरोपपछि मदन-आश्रित स्मृति दिवसकै दिन नेता नेपालको यस्तो माग आएको हो ।

यो पनि पढ्नुहोस्

मदन भण्डारीको हत्या हुँदा नेतृत्वमा माधव नेपाल थिए : लेखराज भट्ट

पुर्वप्रधानमन्त्री नेपालले भने, ‘मदन भण्डारीको हत्या भएको हो’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !