१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रपति कार्यालयको स्पष्टोक्ति : बहुमतको प्रधानमन्त्रीमा दाबी गर्न कोही आएन


राष्ट्रपति कार्यालय शीतलनिवास

काठमाडौँ । राष्ट्रपति कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकारका लागि दाबी पेश गर्न दिएको समयसीमाभित्र कसैबाट पनि दाबी पेश नभएको स्पष्टोक्ति दिएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले केहि समयअघि एक बिज्ञप्ति जारी गर्दै कसैको पनि दाबी पेश नभएको जानकारी दिएका हुन् ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाका सदस्यलाई मिति २०७८/१/३० गते बिहीबारका दिन साँझको ९.०० बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनको लागि आफ्नो दाबी पेश गर्न आह्वान भएकोमा उक्त समयावधिभित्र कसैको पनि दाबी पेश हुन नआएको व्यहोरा अनुरोध छ ।’ भट्टराईद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

२७ वैशाखमा संसदको विश्वास गुमाएसँगै पदमुक्त भएका केपी शर्मा ओली संविधानको धारा ७६ (३) अनुसार संसदको सबभन्दा ठूलो दलको नेताका रुपमा प्रधानमन्त्री बन्ने छन् । राष्ट्रपतिले संसदको सबैभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीलाई संविधानको धारा ७६ (३) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्ने शीतल निवास स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीको सपथग्रहण शुक्रबार हुने र ओलीले सपथग्रहण लगत्तै मन्त्रिपरिषद् गठन गर्ने बताइएको छ । शीतल निवास स्रोतले पनि सपथ कार्यक्रम भने थप तयारी गर्न पर्ने भन्दै भोलि शुक्रबारलाई राखिएको कार्यालयले बताएकाे छ ।

नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली आजै राती पुनः अल्पमतको प्रधानमन्त्री नियुक्त हुने भएका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले केहि समयपछि प्रधानमन्त्री नियुक्त गर्न लागेकी हुन् ।

राष्ट्रपति कार्यालय बिज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !