४ जेष्ठ २०८१, शुक्रबार

प्रचण्ड पनि पुगे देउवाको शरणमा बूढानीलकण्ठ


प्रचण्ड र देउवा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बूढानीलकण्ठ पुगेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । अहिले काँग्रेस सभापति देउवाको निवास राजनीतिक भेटवार्ताको केन्द्र बन्दै गएको छ ।

नेकपा एमालेमा केपी शर्मा ओली र माधव नेपालवीच पार्टी एकता कायम गर्दै आपसी समझदारी जुट्न लागेको सुइँको पाएपछि अत्तालिएर प्रचण्ड देउवालाई भेट्न बूढानीलकण्ठ पुगेको आंकलन गर्न सकिन्छ ।

प्रचण्ड देउवालाई भेटन आज साँझ ६ बजे देउवा निवास बूढानीलकण्ठ पुगेका थिए । देउवा र दाहालबीच करीव आधा घण्टा कुराकानी भएको देउवाको सचिवालयले जानकारी दिएको छ ।

पछिल्लो समय प्रधानमन्त्रीले विश्वासको मत लिने, राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचन र नयाँ सरकार गठनका लागि नेताहरुको दौडधूप बढेको छ । प्रमुख राजनीतिक दलका नेताहरुले आफ्नै पार्टी तथा अन्तर पार्टीका नेताहरूसँगको भेटवार्तालाई तीव्रता दिएका छन् ।

यसअघि हिजो एमाले नेता माधव नेपाल पनि बूढानीलकण्ठ पुगेर देउवालाई भेटेका थिए । यस्तै प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेता पनि अस्ति बूढानीलकण्ठ पुगेर देउवासँग छलफल गरेका थिए ।

प्रचण्ड जसरी भएपनि ओलीलाई प्रधानमन्त्रीवाट हटाउन अनेक तानाबाना गरिरहेका छन् । यसका लागि उनले माधव नेपाल समूहलाई समेत ओलीकोबिरुद्ध मोर्चाबन्दी ल्याउन हरसम्भव प्रयासरत छन । तर ओली र नेपाल पार्टी एकताको लागि नजिकिएपछि प्रचण्ड तनावमा आएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !