२३ बैशाख २०८१, आइतबार

ओलीको दूत बनेर नेपाललाई भेट्न दुगड कोटेश्वर, विष्णु पौडेललाई भेट्न सोम पाण्डे बालुवाटार


माधव नेपाल, मोतिलाल दुगड, विष्णु पौडेल र सोम पाण्डे

काठमाडौं । शीर्ष नेताहरुको व्यक्तिगत शक्ति संघर्ष र सत्ता मोहको जालमा फसेर कानुनी रुपमै विभाजनउन्मुख भएको सत्तारूढ दल नेकपा एमालेलाई एकताबद्ध बनाउन दोस्रा पुस्ताका नेताहरुको सक्रियता बढेको छ ।

यसैक्रममा एमालेका नेता एवं पूर्वमन्त्री सोमप्रसाद पाण्डे पार्टी र प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार मोतिलाल दुगड पार्टीलाई एकताबद्ध बनाउनको लागि सक्रिय भएका छन् । ओलीको दूत बनेर माधव नेपाललाई भेट्न दुगड कोटेश्वर गएका थिए भने विष्णु पौडेललाई भेट्न नेपालनिकट सोम पाण्डे बालुवाटार आएका थिए ।

पछिल्लो समय पार्टी एकता कायम गर्नुपर्ने भन्दै एमालेका दोस्रो तहका नेताहरुले अध्यक्ष ओली र नेता नेपाललाई छुट्टाछुट्टै भेट गरेका हुन् । एमालेको विभाजन रोक्न सक्रिय देखिएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई साक्षी राखेर हिजो विहीवार मध्यरातिसम्म प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्षओली र बरिष्ठ नेता नेपालवीच छलफल भएको बुझिएको छ ।

अध्यक्ष ओली र नेता नेपाललाई मिलाउनेगरी आजमात्रै नेपालका सम्धी समेत रहेका पाण्डेले ओलीलाई बालुवाटार पुगेर भेटेका छन् भने प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार दुगडले पनि नेता नेपाललाई कोटेश्वर पुगेर भेटेका हुन् ।

यसअघि पनि नेता नेपाल र अध्यक्ष ओलीबीच दुगडकै पहलमा होटल म्यारियटमा बैशाख ९ र १० गते भेटवार्ता भएको थियो । तर, उनीहरुबीच सहमति भने हुन सकेको छैन । बैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदवाट विश्वासको मत दिने दिन नजिकिँदै गएपछि एमालेभित्र नेताहरुको दौडधुप बढेको हो ।

एमालेलाई विभाजनवाट जोगाएर एक ढिक्का बनाउनुपर्ने दोस्रो तहका नेताहरु सक्रिय भई रहेका हुन् । यदि एमाले विभाजन हुने हो भने भविष्यमा एमालेका नेताहरुको राजनीतिक जीवन पत्तासाफ हुने नै देखिन्छ । अन्तिममा आएर उनीहरुको बुद्धिमा लागेको बिर्को केहि खुलेको हो की भन्ने आभास हुन थालेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !