२३ बैशाख २०८१, आइतबार

धरहरा चढेपछि प्रधानमन्त्रीले भने, ‘मलाई आइफल टावर चढे जस्तो अनुभव भएको छ’


प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिबार उद्घाटन गरेपनि धरहराको टुप्पोमा पुगेपछि आफूलाई फ्रान्सको आइफल टावर चढे जस्तो अनुभव भएको बताएका छन् ।

राजधानी काठमाडौँको सुनधारामा नवनिर्मित धरहराको आज शनिबार औपचारिक रुपमा उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले धरहराको टुप्पोमा बेजोड हावा चलेको सुनाउँदै त्यहाँबाट काठमाडौंको दृश्य पनि मनमोहन देखिएको बताए ।

विगतको भन्दा धरहरा अग्लो भएको बताउँदै ओलीले धरहरा नेपालीको भावनासँग जोडिएको बताए । पहिलेको भन्दा अहिलेको नवनिर्मित धरहरा सुन्दर, भब्य र आधुनिक बनेको कुरा बताएका हुन् । उनले इतिहास झल्किने र आधुनिकता टल्किने धरहरा बनेको बताएका हुन् ।

धरहरामा राखिएको शिलालेख अनावरण गरेपछि लिफ्टबाट २० औं तलामा रहेको बालकोनीमा पुगेर प्रधानमन्त्री ओलीले पुष्प वृष्टि समेत गरेका छन् । त्यहाँबाट उनले काठमाडौं उपत्यकाको दृष्यावलोकन समेत गरेका छन् ।

धरहरा उद्घाटन समारोहलाई सम्बोधनका क्रममा धरहरा चढ्दाको अनुभव सुनाउँदै प्रधानमन्त्रीले भने, ‘मलाई अलीअली आइफल टावर चल्दाको स्मरण भयो । आइफल माथि पुग्दा उधुम हावा चल्छ । धरहरामा पनि मान्छे चढेपछि त्यहाँको चिसो हावाले बेग्लै किसिमको आनन्द दिनेगरी निर्माण भएको छ ।’

उनले धरहरामा जनताका भावनाहरु भएकोले धरहरा ढल्दा हामी आफै ढलेजस्तो लागेको अनुभव सुनाए । यस्तै उनले धरहराको भग्नावशेष हेर्दा आफ्नो इतिहास नै खण्डहर भएजस्तो लागेको बताउदै धरहरा उठ्दा गर्व महसुश भएको बताए ।

यो पनि पढ्नुहोस्

इतिहास झल्किने र आधुनिकता टल्किने धरहरा बन्यो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीद्वारा पुनर्निर्मित धरहराको उदघाटन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !