१३ बैशाख २०८१, बिहिबार

कर्णालीमा एमाले संसदीय दलको बैठक जारी, फ्लोर क्रस गर्ने सांसदमाथि कारवाही गर्ने


प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापा

सुर्खेत । माओवादी नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकारको पक्षमा पार्टीका सांसदले मतदान गरेपछि एमालेको संसदीय दलको आकस्मिक बैठक जारी रहेको छ । बैठकले ‘फ्लोर क्रस’ गर्ने ४ सांसदहरूलाई कारवाहीको सिफारिस गर्नेछ ।

पार्टीका ह्वीप उल्लंघन गर्दै सांसदहरूले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि उनीहरूलाई सांसद पदबाट निलम्बन गर्न लागिएको हो । आज प्रदेश सभामा भएको मतदानमा प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गरेका थिए ।

कर्णालीका मुख्यमन्त्री शाहीले प्रदेशसभा बैठकमा विश्वासको मत पाएका छन् । उनीहरूले विश्वासको मतको पक्षमा मतदान गरेपछि महेन्द्रबहादुर शाहीको सरकार जोगिएको छ ।

एमालेकै सांसद देवी ओलीले भने विश्वासको मतको पक्षमा दिएको मत सभामुखले निर्धारण गरेको समयमा सच्याएकी थिइन् । विश्वासको मतको पक्षमा बहुमत पुगेको थाहा पाएपछि उनले मत सच्याएकी हुन् । तर ह्वीप उल्लंघन गरेर पनि मत सच्याएका कारण ओली भने कारबाहीबाट जोगिने भएकी छिन् ।

शुक्रबारको बैठकमा उपस्थित ३७ जना सांसदमध्ये विश्वासको मतको पक्षमा २२ र विपक्षमा १५ जना सांसदले मत दिएका छन् । जसमा माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र नेकपा एमालेका ४ जना सांसदले शाहीको पक्षमा मतदान गरेका हुन् ।

एमालेले माओवादी केन्द्रका शाही नेतृत्वको सरकारबाट बाहिरिँदै नयाँ सरकार निर्माणको गृहकार्य असफल भएको छ । एमाले एक्लैले बहुमत पुर्याउन सक्ने बहुमत आफ्नै सांसदले धोका दिएपछि तुहिएको छ ।

यो पनि पढ्नुहोस्

यी हुन् कर्णालीमा माओवादीको सरकार जोगाइदिने एमालेका ४ सांसदहरु

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत, एमालेलाई आफ्नै सांसदले दिए धोका


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !