२५ बैशाख २०८१, मंगलबार

किन एकाएक स्थगित भयो माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटी बैठक ?

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित


नेकपा माओवादी केन्द्र पार्टी कार्यालय पेरिसडाँडामा

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आज आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको स्थायी कमिटी बैठक एकाएक स्थगित भएको छ । बैठकअघि अरु राजनीतिक दलहरुसँग छलफल गर्न र केही नेताहरु काठमाडौं बाहिर भएकाले बैठक स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आज बस्ने भनिएको बैठकले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता गर्ने औपचारिक निर्णय गर्ने, नयाँ सरकार गठनबारे छलफल हुने र एमालेमा गएका नेतामाथि कारबाही गर्ने जस्ता एजेण्डाहरु रहेका थिए ।

गत बुधबार प्रतिनिधिसभा बैठकमा सांसद देव गुरुङले ओलीले विश्वासको मत लिनुपर्ने समेत बताइसकेपछि त माओवादी केन्द्रलाई समर्थन फिर्ता विषयले नैतिक दबाब बढाएको देखिन्छ ।

फागुन २३ मा सर्वोच्च अदालतले गरेका नेकपा खारेजीको फैसलापछि साविकका एमाले र माओवादी केन्द्र ब्यूँतिएपनि ओली सरकारलाई माओवादी केन्द्रको समर्थन कायमै छ । काँग्रेस-जसपा लगायतका दलसँगको छलफलपछि प्रचण्ड ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा रहेको बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने समर्थन फिर्ता लिए राजीनामा दिने बताइसकेका छन् । माओवादीले समर्थन फिर्ता लिएको खण्डमा वर्तमान सरकार अल्पमतमा पर्ने र प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्ने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !