२२ बैशाख २०८१, शनिबार

खनाल-नेपाल­ समूहले अबको २ महिना संगठन सुदृढीकरण अभियान चलाउने


माधव नेपाल र झलनाथ खनाल फाइल फोटो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को खनाल-नेपाल­ समूहको अबको २ महिना संगठन निर्माण र पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

काठमाडौँमा आज बसेको उक्त समूहको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले माथिल्लो तहमा एक खालको कारवाही र तल तहमा अर्काे खालको कारवाही गर्ने काम गरेकाले उक्त अभियानका क्रममा त्यसको विरोध गर्ने र वडातहसम्मै जनवर्गीय संगठन तथा पार्टीको संगठन निर्माण गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए ।

“जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीलाई वास्ता नगरी भटाभट जिल्ला कमिटी बनाएको छ, यो त कमिटीमाथि कारवाही गरिएको भयो”, पन्तले भने, “माथि एक प्रकारको कारवाही र तल अर्काे खालको कारवाही गरिएको छ ।”

उनले भने, “पार्टी नफुटेको बेलाको वैध कमिटीलाई कारवाही गरेमा विरोध गर्ने र जनसङ्गठन र पार्टीको पनि वडा तहसम्मै सङ्गठन बनाउने भन्ने भएको छ ।” बैठकले केही दिन अघि भएको राष्ट्रिय भेलाको प्रतिवेदन र त्यसमाथि आएको सुझावलाई समेटेर पुस्तक प्रकाशन गर्दै त्यसलाई तल्लो तहसम्म पुर्याउने निर्णय पनि गरेको छ ।

विसं २०७५ जेठ २ गते अघिको पार्टी कमिटीलाई पुनर्गठन गर्दै प्रशिक्षण कार्यक्रमसमेत सञ्चालन गने निर्णय भएको जनाइएको छ । जेठ २ लाई आधार मानेर पार्टी एकतामा फर्किन अध्यक्षलाई आग्रह गरिएको जनाइएको छ ।

अभियानका क्रममा केन्द्रीय सदस्यलाई जिल्ला जिल्लामा खटाउने, प्रचारात्मक र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तथा स्थापना दिवस, मनामोहन अधिकारी स्मृति दिवस र मदनआश्रित स्मृति दिवस भव्य रूपमा मनाउने निर्णय पनि गरेको छ । यसअघि नेकपा एमालेले पार्टीका नेताहरू माधवकुमार नेपाल, भीम रावल, घनश्याम भूषाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरिसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !