२२ बैशाख २०८१, शनिबार

खनाल-नेपाल समूहको स्थायी समिति बैठक बस्दै, अलग अभियानको घोषणा गर्ने


माधव नेपाल र झलनाथ खनाल फाइल फोटो

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल समूहको आज स्थायी कमिटी सदस्यहरुको बैठक बस्दैछ । दिउँसो ३ बजे बस्ने बैठकले संगठन सुदृढीकरण तथा कार्यकर्ता प्रशिक्षण सञ्चालन लगायतका विषयमा औपचारिक निर्णय गरी देशव्यापी अभियान घोषणा गरिने बताइएको छ ।

सो समूहका नेता योगेश भट्टराईले राष्ट्रव्यापी अभियान सञ्चालनका विषयमा विभिन्न प्रस्ताव आएको हिजो जानकारी दिँदै त्यसबारे आज शनिबारको बैठकबाट निर्णय गर्ने बताएका थिए । एमालेको उक्त समूहले यसअघि चैत ४ र ५ गते ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेर त्यसपछि ओलीलाई टक्कर दिन समानान्तर गतिविधि संचालन गर्दै आएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने पार्टीको हितविपरित गुटगत गतिविधि गरेको भन्दै सोधिएको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको भन्दै वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष भीम रावल, नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गर्दै कारबाही समेत गरिसकेका छन् ।

यो समूहले एमाले फुटाउन अध्यक्ष केपी शर्मा ओली नै उद्दत भएको सन्देश पनि तल्लो तहमा लैजाने तयारी गर्नुका साथै खनाल-नेपाल समूहका नेताहरुको चैत ४ र ५ गते भएको राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत भएको अवधारणा सहित तयार पारिएको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म छलफलका लैजाने पनि भएको छ ।

यो समूहका स्थायी कमिटी सदस्यहरुको हिजो शुक्रबार बसेको बैठकले पार्टी उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि ओलीले गरेको कारबाहीको विरोध पनि गरेको थियो । कारबाही पार्टीको नवौं महाधिवेशनबाट पारित विधान विपरित र पूर्वाग्रही भएको निष्कर्ष यो समूहले निकालेको छ ।

स्रोतका अनुसार खनाल-नेपाल समूहले नयाँ पार्टी गठन गर्ने अन्तिम तयारीमा पुगेको पनि आंकलन गर्न सकिन्छ । एमालेमा ओलीले खनाल-नेपाल समूहलाई पाखा लगाएर नै पुनर्स्थापित नेकपा एमाले चलाउने तयारी गरेपछि संसदको सबैभन्दा ठूलो पार्टी विभाजित हुने अवस्थामा पुगेको देखिन्छ ।

नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउने अभियानमा आफू लागिसकेको भन्दै विभिन्न समानान्तर कमिटि गठन प्रक्रियालाई तिब्रता दिएका छन । स्रोतका अनुसार अब एमालेमा ओलीसँगै रहन नसकिने निष्कर्षमा धेरै नेता पुगेका छन् ।

माधव नेपालले भने अब शुरुमा एमाले पुनर्गठन अभियानका नाममा तलदेखि माथिसम्म कमिटीहरुमा कार्यकर्ता संगठित गरेर १ महिनापछि अलग पार्टी दर्ताको मनस्थिति बनाएपछि प्रचण्ड, मोहन वैद्य लगायतका समूहसँग एकताको पहल गरिने स्रोतको भनाइ छ ।

यसबीच बिहिबार पोखरामा आयोजित कार्यक्रममा केपी ओलीलाई हटाएर आफ्नै नेतृत्वमा केन्द्रीय कमिटी बनाउने घोषणा समेत गरेर केपी ओलीलाई हटाएर नयाँ कमिटी बनाउने भन्दै यो प्रक्रिया गाउँ गाउँसम्म पुग्ने बताएका थिए । कतिपयले अझै पनि एकताको प्रयास जारी राखेका छन् । गोकर्ण विष्ट, योगेश भट्टराईहरु पार्टी एकता जोगाउने प्रयासमा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !