२६ बैशाख २०८१, बुधबार

२३ औं ‘जनयुद्ध’ दिवसको कार्यक्रममा देखिएनन् एमाले नेता


janayugda divas

१ फागुन, काठमाण्डौ । माओवादी केन्द्रले मंगलबार आयोजना गरिएको २३ औं जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा सास्कृतिक कार्यक्रमसहित जनयुद्ध दिवस मनायो । पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा (बादल) लगायतको उपस्थिति थियो । कार्यक्रममा एमाले नेतालाई पनि निम्त्याइएको थियो, तर एमाले नेताले माओवादीको निम्तो मानेनन् ।

पेरिसडाँडामा आयोजना गरिएको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले-माओवादी पार्टी एकताको सन्दर्भ निकाल्दै एमालेले जनयुद्ध स्वीकार गरेको बताए । तर, जनयुद्ध स्वीकार गर्न तयार भएको भनिएका एमालेका नेताहरु भने जनयुद्ध दिवसमा आयोजना गरिरहेको कार्यक्रममा देखिएनन् ।

जनयुद्ध दिवस मनाउन वाइसीएलले माघ १८ गते नै तयारी गरेको थियो । उक्त बैठकले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गर्ने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निम्तो दिने निर्णय समेत गरेको थियो । तर, विशेष कारणबस भन्दै कार्यक्रम आयोजक वाइसीएल नेपालले केपी ओलीलाई निमन्त्रणा गरेन ।

केपी ओलीको सट्टामा वाइसीएलले एमाले उपाध्यक्ष वामदेव गौतमलाई निमन्त्रणा पठायो । तर, मंगलबार आयोजित कार्यक्रममा एमालेका कुनै नेता उपस्थित भएनन् । एमाले उपाध्यक्ष गौतमले कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेको खबर पठाएको वाइसीएलले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !