१० जेष्ठ २०८१, बिहिबार

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, के निर्णय गर्ला त ?


नेपाली कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ । केन्द्रीय पार्टी कार्यालय सानेपामा दिउँसो २ बजेपछि बस्ने बैठकमा समसामयिक राजनीति र भदौ ७ गतेदेखि हुने १४ औं महाधिवेशन कार्यतालिका हेरफेरबारे निर्णय गर्ने बुझिएको छ ।

नयाँ सत्ता समीकरणका लागि प्रयासहरु भइरहेका बेला बस्न लागेको काँग्रेसको बैठकलाई विशेष चासोका साथ हेरिएको छ । संसद पुनःस्थापना पछिको देशको राष्ट्रिय राजनीतिबारे नेताहरुले बैठक माग गर्दै आए तापनि बैठक बस्न सकेको थिएन ।

काँग्रेसमा वैकल्पिक सरकार निर्माणका विषयमा संस्थागत निर्णय गर्नुपर्नेमा पार्टी नेतृत्वमा दबाब बढेको छ । कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई माओवादी केन्द्रले दिंदै आएको समर्थन फिर्ता गर्नुपर्ने भन्दै आएको छ ।

कांग्रेसको यही बैठकलाई माओवादी केन्द्र र जसपाले पनि पर्खेर बसेको बताएका छन् । ओली सरकार ढाल्न माओवादी केन्द्रले कांग्रेस र जसपासँगको छलफललाई जारी राखेको छ । केन्द्रले कांग्रेसको केन्द्रीय समितिको बैठकको निर्णय कुरेपछि थप निर्णय गर्ने बताएको छ ।

आज बस्ने बैठकमा क्रियाशील छानविन समिति र अन्तरपार्टी समायोजन समितिले प्रतिवेदन पेश गर्ने एजेण्डा रहेको छ । चैत १० गतेसम्म क्रियाशील सदस्यता विवरण कांग्रेस कार्यालयमा आइपुग्नुपर्ने भएपनि हालसम्म अधिकांश जिल्लाले विवरण बुझाएका छैनन् ।

आजको बैठकमा पछिल्लो राजनीतिक अवस्था, सम्भावित सत्ता समीकरण र माओवादी, जसपा लगायतका दलसंग भएको वार्ताबारे पनि छलफल हुने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !