४ बैशाख २०८१, मंगलबार

जोगियो राई र पौडेलको मुख्यमन्त्री पद : खनाल-नेपाल समूहले अविश्‍वास प्रस्ताव फिर्ता लिने

खनाल-नेपाल समूहले मुख्यमन्त्री राई र पौडेलविरुद्धको अविश्‍वास प्रस्ताव फिर्ता लिने


शेरधन राई र डोरमणि पौडेल

काठमाडौं । नेकपा एमालेको खनाल-नेपाल समूहले प्रधानमन्त्री केपी ओली समूहका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने भएको छ । उक्त समूहका शीर्ष नेताबीच भएको बैठकपछि अविश्वास प्रस्ताव लिने निर्णय भएको हो ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका खनाल-नेपाल समूहका प्रदेशसभा सदस्यहरुले सामूहिक रुपमा फिर्ता लिने भएको छ ।

खनाल-नेपाल समूहका नेता तथा प्रदेशसभा सदस्य राजेन्द्रकुमार राईले ३ दिनअघि नै शीर्ष नेताहरु बसेर प्रदेश १ का मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर सामूहिक रुपमा फिर्ता लिने सहमति भइ सकेको बताए ।

मुख्यमन्त्री राईविरुद्ध हस्ताक्षर गरेका एमालेका खनाल-नेपाल समूहका १६ जना प्रदेशसभा सदस्यहरुले हस्ताक्षर फिर्ता लिन बाँकी छ । ९३ सदस्यीय प्रदेशसभा एमालेको ५१ जना प्रदेशसभा सदस्य छन् ।

प्रदेश १ मा पुस १२ गते सत्तारूढ तत्कालीन नेकपाको दाहाल–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । उक्त समूहका ‍‍‍‍३७ जना प्रदेशसभा सदस्यले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

यसैगरी बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध तत्कालिन प्रचण्ड-नेपाल समूहका ४५ सांसदले पुस १० मा प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । खनाल-नेपाल समूहले बागमती प्रदेशमा दर्ता भएको प्रस्ताव नै फिर्ता लिने निर्णय भएको उक्त समूहका एक नेताले जानकारी दिए ।

फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले नेकपाको एकीकरण बदर गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिए दिएपछि भने तत्कालीन नेकपाको खनाल-नेपाल समूह एमाले नै भएकाले अविश्वास प्रस्ताव फिर्ता लिने/नलिने भन्ने बारेमा नेताहरु अन्योलमा थिए ।

अब १/१ दिनभित्रै अविश्वास प्रस्ताव फिर्ता लिने जनाइएसँगै प्रदेश १ र बागमती प्रदेश सरकार तत्काल नढल्ने भएकोले मुख्यमन्त्रीहरु राई र पौडेलको पद जोगिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु