१८ बैशाख २०८१, मंगलबार

अन्तत: बंगलादेश पुगिन् राष्ट्रपति भण्डारी, राष्ट्रपति हमिदले गरे विमानस्थलमा स्वागत


बंगलादेश पुगिन् राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमणका क्रममा राजधानी ढाका पुगेकी छिन् । राष्ट्रपति भण्डारीलाई बंगलादेशी समकक्षी अब्दुल हमिदले विमानस्थलमा स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान ८ः४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजबाट ढाका प्रस्थान गरेकी थिइन् ।

राष्ट्रपति भण्डारी नेपाल एयरलाइन्सको जहाजमार्फत ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार १० बजे अवतरण गरेकी हुन् । राष्ट्रपति भण्डारीको स्वागतमा बंगलादेशका विदेशमन्त्री ए के अब्दुल मोमेन, स्वास्थ्यमन्त्री जाहिद मालिकी, रेलमन्त्री नुरुल इस्लाम सुजोन, विदेश राज्यमन्त्री मोहम्मद शाहरिरार आलम लगायत पनि उपस्थित थिए ।

सोही क्रममा राष्ट्रपति भण्डारीको सम्मानमा बंगलादेशी सेनाले गार्ड अफ अनरसहित २१ तोपको सलामी दिएको थियो । विमानस्थलबाट राष्ट्रपति भण्डारी बंगलादेशको स्वतन्त्रता संग्रामका सहिदहरूको शालिकमा माल्यार्पण गर्न पुगेकी थिइन् ।

राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्म शताब्दी विशेष समारोहका अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान गएकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !